आफूले विदेशी वस्तुमा लगाएको भन्सारलाई सर्वोच्च अदालतले खारेज गरेमा अमेरिकालाई ३० खर्ब डलरभन्दा बढी घाटा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन्।
ट्रम्पले दोस्रो कार्यकालमा सबै देशका उत्पादनमा भन्सार लगाएका छन्।
अमेरिकी संसदले मात्रै कर लगाउन सक्ने भनेर उनको निर्णय विरूद्ध धेरैले सर्वोच्च अदालतमा मुद्दा हालेका छन्।
भन्सारका कारणले अमेरिकी उपभोक्ताले विदेशी वस्तु बढी मूल्यमा किन्नुपर्ने भएकाले भन्सार पनि एक किसिमको कर नै भएको भन्दै मुद्दा हाल्नेले जिकिर गरेका छन्।
अहिले ती मुद्दामा सर्वोच्च अदालतले सुनुवाइ गरिरहेको छ। त्यही क्रममा ट्रम्पले उठिसकेको भन्सार फिर्ता दिनुपर्ने, भविष्यमा उठ्न नसक्ने भन्सार र विभिन्न देशसँग भन्सार दर निर्धारणको क्रममा भएका व्यापार सम्झौता अनुसार अमेरिकामा आउने लगानी सबै जोड्दा अमेरिकालाई ३० खर्ब डलरभन्दा बढी घाटा हुने उनले बताएका छन्। उनले विदेशी सामानमा लगाएको भन्सारबाट उठेको पैसाबाट हरेक नागरिकलाई दुई हजार डलर दिने प्रतिबद्धता पनि दोहोर्याएका छन्।
उनले त्यस्तो दाबी गरे पनि अमेरिकाले अहिले भन्सारबाट प्रति महिना लगभग ३० अर्ब डलर उठाएको र सो गतिमा प्रतिवर्ष लगभग चार खर्ब २० अर्ब डलर मात्रै उठ्ने भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
त्यस्तै, जापान, दक्षिण कोरिया र युरोपेली संघ लगायतले व्यापार सम्झौता गर्दा आगामी वर्षहरूमा अमेरिकामा १५ खर्ब डलर लगानी गर्ने प्रतिबद्धता गरेका छन्। तर ती देशले सो रकम भुक्तानी गर्ने होइनन् बरू लगानी पनि धेरै वर्ष सम्ममा गर्ने प्रतिबद्धता जनाएका हुन्। ट्रम्पले भने ती सबै अमेरिकालाई तत्काल भुक्तानी हुने जस्तो गरेर, अझ त्यसमा पनि बढाइचढाइ गरेर दाबी गरेका हुन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)