थाइल्याण्डमा रहेका ३७ जना नेपालीको थाइल्याण्डबाट उद्धार भएको छ।
अनलाइन स्क्यामका लागि म्यानमारमा फसेका नेपाली नागरिकहरूलाई सरकारले उद्धार गरेको हो।
अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ, फिसिङ, क्रिप्टो करेन्सी लगायतका काममा लगाइएका नेपालीहरूको उद्धार भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
म्यानमारमा सुरक्षाकर्मीले अक्टोबर १९ मा छापा मारेको थियो। छापा मारेपछि थाइल्यान्ड प्रवेश गरेका ३७ जनालाई नेपाली राजदूतावासले विभिन्न निकायमा समन्वय र सहकार्य गरी मंसिर ३ गते नेपाल एयरलाइन्समार्फत काठमाडौं फर्काएको हो।
म्यानमारकै म्यावडा रहेका थप २३ जना, थाइल्यान्डको मेसोटमा दुई जना र कम्बोडियामा रहेका चार जना नेपालीहरूलाई पनि फर्काउन समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
‘नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभले कम्वोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा पुन: अनुरोध गर्दछ,’ परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ।