नाइजेरियाको उत्तर–मध्य क्षेत्रमा रहेको नाइजर राज्यको एक निजी क्याथोलिक विद्यालयबाट ३०० जना विद्यार्थी अपहरणमा परेका छन्।
हतियारधारी डकैती समूहले शुक्रबार सेन्ट मेरिज स्कुलबाट तीन सयभन्दा बढी विद्यार्थीलाई अपहरण गरेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।
क्रिश्चियन एशोसिएसन अफ नाइजेरियाका अनुसार अपहरण पर्नेमा ३०३ जना विद्यार्थी र १२ जना शिक्षक छन्।
विद्यार्थीहरू १० देखि १८ वर्ष उमेरका छन्। केही विद्यार्थीहरू भाग खोजे पनि उनीहरूलाई भाग्दा भाग्दै अपहरणकारीले नियन्त्रणमा लिएका थिए।
घटनापछि संघीय तथा प्रदेश सरकारद्वारा सञ्चालित उत्तर नाइजेरियाका केही विद्यालयहरू तत्कालका लागि बन्द गरिएका छन्।
संघीय राजधानी अबुजासँग सीमा जोडिएको नाइजर राज्यमा भएको यो अपहरणको केही दिन अघि छिमेकी क्वारा राज्यमा चर्चमाथि भएको बन्दूकधारी आक्रमणमा दुई जनाको मृत्यु भएको थियो।
त्यही हप्तामा उत्तर–पश्चिमी केब्बी राज्यमा एक छात्रावासमा छिरेर सशस्त्र समूहले २५ छात्रालाई अपहरण गरेको र उप–प्राध्यापकलाई गोली हानी हत्या गरेको घटना पनि सार्वजनिक भएको छ।
नाइजर राज्य सरकारले सेंट मेरीज स्कुलमाथिको हमलाको कठोर शब्दमा निन्दा गरेको छ भने स्थानीय प्रहरीले अपहरित विद्यार्थीहरूको उद्धारका लागि सुरक्षाकर्मी जंगल क्षेत्रमा खोजतलासमा रहेको जानकारी दिएको छ।
नाइजेरियामा पछिल्ला वर्षहरूमा फिरौतीका लागि अपहरण, साम्प्रदायिक तथा जातीय द्वन्द्व, किसान–गोठाला विवाद र चरमपन्थी समूहका क्रियाकलापले व्यापक असुरक्षा बढाएको छ।
क्रिश्चियन तथा मुस्लिम दुवै समुदाय चरमपन्थी हमलाका शिकार बनेको तथ्य विभिन्न प्रतिवेदनमा उल्लेख छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियालाई ‘कन्ट्री अफ पार्टिकुलर कन्सर्न’ घोषणा गर्दै धार्मिक स्वतन्त्रता गम्भीर रूपमा उल्लंघन भएको दाबी गरेका छन्।