प्रेम जाहेर गर्ने सबभन्दा सशक्त माध्यम या त आलिंगन हो या चुम्बन?
आलिंगन त भावनात्मक सम्बन्धको एउटा सामान्य अभिव्यक्ति नै भइहाल्यो, तर मुखमा मुख जोडेर वा गालामा चुम्बन साट्ने व्यवहारको सुरूआत कहिलेबाट भयो?
चुम्बन (किस) न जीवन बाँच्न जरूरी छ, न सन्तान उत्पादन गर्न; तैपनि यसलाई मानव जीवनसँग जोडिएको सशक्त अभिव्यक्तिका रूपमा लिइन्छ।
मानिस मात्र होइन, चुम्बन गर्ने व्यवहार केही जनावरमा पनि पाइन्छ। खासगरी बाँदर प्रजाति र भालूहरू एकअर्काप्रति माया दर्शाउन चुम्बन साट्ने गर्छन्।
शारीरिक रूपमा प्रेम अभिव्यक्त गर्ने यो व्यवहार कति पुरानो हुन सक्छ, के तपाईंलाई अनुमान छ?
वैज्ञानिकहरूले हालैको एक अध्ययनमार्फत यही प्रश्नको जबाफ खोज्ने प्रयास गरेका छन्।
उनीहरूको अध्ययन अनुसार चुम्बनको सुरूआत करिब २ करोड १५ लाख वर्षअघि भएको अन्तर्राष्ट्रिय समाचार संस्था 'बिबिसी' ले लेखेको छ।
मानिस र बाँदरका प्रजातिका साझा पुर्खाले २ करोड वर्षभन्दा अगाडि नै प्रेम अभिव्यक्तिको यो व्यवहार देखाउँथे भन्ने अध्ययनको निष्कर्ष छ।
उक्त अध्ययनले निएन्डरथल, अर्थात् सिकारी युगमा गुफामा बस्ने मान्छेहरू पनि एकअर्कालाई चुम्बन गरेर प्रेम प्रकट गर्थे भन्ने देखाएको छ।
शोधकर्ताहरूले बाँदरका विभिन्न प्रजातिको व्यवहार तुलना गरेर यसको विकासक्रम पहिल्याउन खोजेका छन्।

बिबिसीका अनुसार अक्सफोर्ड विश्वविद्यालयकी मुख्य शोधकर्ता डा. म्याटिल्डा ब्रिन्डलले मानिस, चिम्पान्जी र बोनोबो — यी तीनै थरीका प्राणीले मुख जोडेर चुम्बन साट्ने गरेको बताएकी छन्।
'यी तीनै प्रजातिका अन्तिम साझा पुर्खाले नै चुम्बनको सुरूआत गरेका हुन सक्छन्,' डा. ब्रिन्डललाई उद्धृत गर्दै बिबिसीले लेखेको छ, 'यस आधारमा हामी चुम्बनको सुरूआत करिब २ करोड १५ लाख वर्षअगाडि भएको अनुमान गर्न सक्छौं।'
'एवोल्युसन एन्ड ह्युमन बिहेवियर' भन्ने जर्नलमा प्रकाशित यो अध्ययन अनुसार भेडा, कुकुरको एक प्रजाति र भालूहरूमा पनि चुम्बन गर्ने चलन छ। केही प्रजातिका पन्छी पनि एकअर्कासँग मुख जोडेर चुम्बन साट्छन्।
यसअघिको अर्को अध्ययनमा निएन्डरथलको डिएनए विश्लेषण गर्दा आजका मानिस र निएन्डरथल दुवैको मुखको र्यालमा पाइने एउटा विशेष ब्याक्टेरिया समान रहेको भेटिएको थियो।
डा. ब्रिन्डल भन्छिन्, 'यसको अर्थ स्पष्ट छ — प्रजातिहरू अलग भए पनि करोडौं वर्षसम्म दुवैबीच र्याल आदानप्रदान हुँदै आएको रहेछ। यसले निएन्डरथलहरूले पनि आपसमा चुम्बन साटे भन्ने सम्भावनालाई बलियो बनाउँछ।'
यो अध्ययनले चुम्बनको सुरूआत कहिलेबाट भयो भन्ने जबाफ दिए पनि किन भयो भने यकिन भनेको छैन।
यसबारे केही पुराना अवधारणा छन्। केही विद्वानका अनुसार हाम्रा पुर्खाले एकअर्काको शरीर सफा गर्ने उपायका रूपमा चुम्बन विकास गरेका हुन सक्छन्।
डा. ब्रिन्डलले पछिल्लो अध्ययनबाट चुम्बनको उत्पत्ति र यसको उद्देश्यबारे थप अनुसन्धानका लागि बाटो खुल्ने आशा व्यक्त गरेकी छन्।
'हामीले बुझ्नुपर्छ, चुम्बन भनेको मानवीय रोमान्सको तरिका मात्र होइन, जनावरहरूमा पनि यस किसिमको व्यवहार देखिएकाले यसको सुरूआत हाम्रो पुर्खाहरूले नै गरेका हुन्,' उनी भन्छिन्, 'चुम्बनसँग शारीरिक आकर्षण मात्र जोडिँदैन, भावनात्मक अभिव्यक्ति पनि जोडिन्छ। यसलाई प्रेम सम्बन्धसँग मात्र जोडेर बेवास्ता गर्नु मूर्खता हो। यसबारे गम्भीरता अध्ययन आवश्यक छ।'
