लामो समयसम्म बेलायतको सबभन्दा धनी व्यक्ति रहेका भारतीय मूलका व्यापारी लक्ष्मी मित्तलले उच्च करका कारण बेलायत छोड्ने भएका छन्।
सत्तारूढ लेबर पार्टीले अति धनीहरूलाई लाउने कर प्रणालीमा गरेको परिवर्तनको कारण मित्तलले बेलायत छोड्ने भएको भनेर उनी निकट स्रोतहरूको हवाला दिँदै बेलायती पत्रिका द टाइम्सले जनाएको छ।
भारतको राजस्थानमा जन्मेका उद्योगपति मित्तल बेलायतमा बसे पनि कर प्रयोजनका लागि स्विट्जरल्यान्डका आवासीय हुन्। अब उनले धेरैजसो समय दुबईमा बिताउने भनेर द टाइम्सले थपेको छ।
बेलायती अर्थमन्त्री र्याचल रिभ्सले आफ्नो दोस्रो बजेट प्रस्तुत गर्नु केही दिनअघि मात्रै मित्तलले बेलायत छोड्ने समाचार आएको हो।
रिभ्सले गत वर्ष ल्याएको बजेटले नै धेरै धनाढ्यहरू रूष्ट थिए। सो बजेटले पुँजीगत लाभकर बढाएको थियो भने उद्यमीहरूले आफ्नो व्यवसाय बेच्दा पाउने कर छुट घटाएको थियो।
त्यसपछि अप्रिलमा रिभ्सले बेलायतमा बसे पनि कर प्रयोजनका लागि अन्यत्र बसेको दाबी गर्नेलाई बेग्लै कर लगाउने व्यवस्था (नन-डम स्टेटस) हटाएकी थिइन्। सो व्यवस्था हटाएपछि बेलायतमा बसिरहे मित्तलका सन्तानले अरू देशमा रहेको सम्पत्ति पाए पनि उत्तराधिकार कर (पैत्रिक लगायत सम्पत्तिमा लाग्ने इनहेरिटेन्स ट्याक्स) तिर्नु पर्ने हुन्छ।
रिभ्सले अप्रिलमा नयाँ व्यवस्था ल्याउने भएपछि मार्चमै मित्तलले बेलायत छोड्ने चर्चा चलेको थियो। अब आउने बजेटमा रिभ्सले फेरि धनीलाई कर बढाउने डरले मित्तलले यस्तो निर्णय लिएको मानिन्छ।
द टाइम्सका अनुसार अब उनी बस्ने भनिएको दुबईमा उत्तराधिकार कर नलाग्ने र स्विट्जरल्यान्डमा पनि सन्तानले बाबु-आमाबाट प्राप्त सम्पत्तिमा कर तिर्नु पर्दैन।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)