अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्यालय व्यवस्थापनको समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
अख्तियारले विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जना र एक विद्यालयविरूद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
कास्की पोखरा उपमहानगरपालिका-१ स्थित रहेको राष्ट्रिय माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणासमेत ८ जनाविरूद्ध मुद्दा दर्ता गरिएको छ। साथै अञ्जुली बोर्डिङ स्कुल प्रालिका उपर मुद्दा दर्ता गराइएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
उनका अनुसार समितिका अध्यक्ष राणा, उपमहानगरपालिका-१ का वडाध्यक्ष शाहारा प्रधान, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू बरूणविक्रम राणा, सोवनाय भट्टराई, विष्णुमाया लामिछाने, नारायणप्रसाद चापागाई, अञ्जुली बोर्डिङ स्कुल प्रालि तथा उक्त प्रालिका संचालक राजु केसी र उक्त बोर्डिङ स्कुलको प्रिन्सिपल सुनिता कुँवर केसीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको हो।
उनीहरूले उपमहानगरपालिका-१ मा रहेको कित्ता नं ३४३ क्षेत्रफल भएको विद्यालयको जग्गा निजी प्रयोजनका लागि भाडामा लगाएको अख्तियारको आरोप छ।
उनीहरूले १५ लाख २९ हजार ४०८ रूपैयाँ भ्रष्टाचार सरकारी सम्पति हानिनोक्सानी पुर्याएको छ। त्यसैले भ्रष्टाचार मुद्दा दर्ता गरेको उनले बताए।
मुद्दा दर्ता भएका ८ जनासँग भ्रष्टाचार गरेबापतकै रकम विगो मागदाबी गरिएको छ।