माघमा हुन लागेको नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्वका डा. मंगल रावलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति रावलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरबाट भिडिओ सन्देश जारी गर्दै उम्मेदवारी घोषणा गरेका हुन्।
उम्मेदवारी घोषणा गर्दै डा. रावलले चिकित्सा पेशामा हासिल गरेका व्यवस्थापकीय अनुभव, संगठनात्मक क्षमता र नेतृत्व गुणका आधारमा संघमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित आफू अघि बढेको बताए।
‘जुनसुकै विचारधारा, भूगोल वा पृष्ठभूमिबाट आएका भए पनि विगतमा महत्वपूर्ण योगदान पुर्याएका र भविष्यमा अझ ठूलो भूमिका निर्वाह गर्न सक्ने सबै चिकित्सक साथीहरूलाई टिममा जोडिन आग्रह गर्दछु,’ उनले भने, 'चिकित्सक संघमा आवश्यक संरचनागत तथा नीतिगत परिवर्तन एउटै व्यक्तिको प्रयासले सम्भव छैन, त्यसका लागि साझा संकल्प र सामूहिक नेतृत्व आवश्यक छ।'
नेपाल चिकित्सक संघको निर्वाचनमा सहभागी हुनका लागि सदस्यता नलिएका सबै चिकित्सकहरूलाई आगामी मंसिर १३ भित्र अनिवार्य रूपमा सदस्यता लिनुपर्ने आवश्यकता औंल्याउँदै समयमै दर्ता प्रक्रियामा सहभागी हुन समेत उनले अनुरोध गरेका छन्।
यो पनि:
थोरै तलबमा परिवारबाट छुट्टिएर बस्नुपर्दा डाक्टरहरू अस्पतालमा कसरी अडिन्छन्?