सुर्खेतको जंगलमा सोमबार किशोर किशोरी मृत फेला परेका छन्।
वीरेन्द्रनगर नगरपालिका–९ काँक्रेबिहारस्थित जंगलमा झुण्डिएको अवस्थामा उनीहरू फेला परेका हुन्।
सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार वीरेन्द्रनगर – १० खजुराकी १६ वर्षीया एक किशोरी र जुम्ला जिल्लाको कनका सुन्दरी गाउँपालिका–७ का १८ वर्षीय किशोर एउटै रूखमा झुण्डिएको अवस्थामा बिहान सवा ११ बजेतिर फेला परेका हुन्।
मृतक दुबै जनाका घर परिवार र आफन्तले उनीहरूको सनाखत गरेको प्रहरीले जानकारी दिएको छ।
बिहान घाँस काट्न गएका स्थानीयले केटा र केटी करौतीको रूखमा झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
खबरपछि जिप्रका सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको कमाण्डमा ५ जनाको प्रहरी टोली घटनास्थलमा खटेर मुचुल्का तयार पार्ने कार्य भइरहेको डिएसपी बुढथापाले बताए।
घटनास्थलमा मुचुल्का लगायतको प्रक्रिया पूरा गरी दुबै जनाको शव पोष्टमर्टमका लागि अस्पताल पठाइने भएको छ।
घटनाबारे थप अनुसन्धान हुने प्रहरीले जानकारी दिएको छ।