कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक जना महिलाको ज्यान गएको छ।
भीमदत्त नगरपालिका –१४ वनकट्टीमा जंगली हात्तीको आक्रमणबाट मंगलबार बिहान पौने ३ बजेतिर स्थानीय ४५ वर्षीया धना विष्टको ज्यान गएको प्रहरीले जनाएको छ।
जंगली हात्तीले जस्ता पाताको छानोयुक्त र मुनि झिंगटीले बेरको विष्टको घर मध्यरातमा भत्काउन थालेको थियो। भाग्ने क्रममा हात्तीले दैलोमा धनालाई आक्रमण गरेको थियो।
गम्भीर अवस्थाकी धनालाई महाकाली प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी सागर बोहराले सेतोपाटीलाई बताए।
घरमा श्रीमान–श्रीमती र छोरा सुतिरहेको समयमा आएको हात्तीले आक्रमण गरेको थियो। त्यो थाहा पाएर धनाका श्रीमान र छोरा भने भागेर ज्यान जोगाएको डिएसपी बोहराले बताए।
‘उहाँहरूको छोरी भने भारतमा हुनुहुँदो रहेछ,’ बोहराले भने, ‘श्रीमान र छोरा भने भागेर ज्यान जोगाउन सफल हुनु भएको रहेछ।’
घरमा आक्रमण गर्ने उक्त जंगली हात्ती शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको अनुमान गरिएको छ।
धनाको शव पोष्टमर्टमका लागि अस्पतालमा राखिएको छ।