अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसबाट दुई ब्लकभन्दा कम दुरीमा दुई जना नेसनल गार्डका सैनिकमाथि गोली प्रहार भएको छ। उनीहरू गम्भीर घाइते भएको बिबिसीले जनाएको छ।
बिबिसीका अनुसार बुधबार अपराह्न वेस्ट भर्जिनियाका दुई नेसनल गार्डमाथि एक जनाले गोली चलाएका थिए। छेउमै रहेका अन्य नेसनल गार्डले गोलीको आवाज सुनेर आक्रमणकारीलाई नियन्त्रणमा लिए।
घटनापछि केही समयका लागि ह्वाइट हाउस क्षेत्र लकडाउन गरिएको थियो।
घटना बेला फ्लोरिडामा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणकारी एक अफगान नागरिक भएको र सन् २०२१ सेप्टेम्बरमा अमेरिका प्रवेश गरेको बताएका छन्।
उनले यसलाई 'दुष्ट र आतंककारी' कदमको संज्ञा दिँदै यसमा संलग्नहरूले ठूलो मूल्य चुकाउनुपर्ने उल्लेख गरेका छन्।
बाइडन सरकार बेला अफगानिस्तानबाट अमेरिका प्रवेश गरेका सबै आप्रवासीको पुनः मूल्यांकन गर्नुपर्ने उनको भनाइ छ।
नेसनल गार्डका सुरक्षाकर्मी बुधबार दिउँसो करिब २:१५ बजे फ्यारागुट स्क्वायर मेट्रो स्टेसन नजिक हुँदा यो हमला भएको हो। उनीहरू सडकको कुनामा गस्ती गर्दै थिए। त्यति बेला कार्यालय जाने–आउनेहरूका कारण सडक व्यस्त थियो।
त्यही बेला आक्रमणकारी कुनाबाट आएको र गोली चलाएको मेट्रो प्रहरीले जनाएको छ।
गोलीको आवाज सुनेर नजिकै रहेका अन्य नेसनल गार्डका सदस्य केही क्षणमै घटनास्थल पुगे र आक्रमणकारीलाई नियन्त्रणमा लिए। आक्रमणकारी २९ वर्षीय रहमानुल्लाह लाकनवाल भएको बिबिसीले जनाएको छ।
आक्रमणकारीलाई चार वटा गोली लागेको छ। कुन प्रकारको हतियार प्रयोग भएको हो भन्ने स्पष्ट भइसकेको छैन। उनीहरूको उद्देश्य पनि खुलेको छैन।
घटनास्थलमा बसस्टपको सिसा फुटेर सडकभरि छरिएका थिए। ठाउँ–ठाउँमा पुलिस कार, सुरक्षाकर्मी र नेसनल गार्ड तैनाथ थिए।
एक प्रत्यक्षदर्शीले बिबिसीलाई पहिला दुई गोली र त्यसपछि तीन गोली चलेको बताए।
अर्का प्रत्यक्षदर्शीले आफ्नै कारबाट खिचेको भिडिओमा दुई जना सैनिक युनिफर्ममै सडकमा लडिरहेका र स्वास्थ्यकर्मीले उपचार गरिरहेका देखिन्छन्। नजिकै तेस्रो व्यक्तिलाई उपचार गरिँदै थियो। उनी आक्रमणकारी हुन्।
वासिङ्टन डिसीमा अहिले करिब २२ सय नेसनल गार्ड तैनाथ छन्। यो सैन्य बललाई प्रहरीजस्तै कानुन लागू गर्ने वा पक्राउ गर्ने अधिकार हुँदैन।
ट्रम्पले गत अगस्टमा 'नियन्त्रण बाहिरको अपराध' रोक्न भन्दै नेसनल गार्ड वासिङ्टन पठाएका थिए। त्यसपछि वासिङ्टनको अपराध दर घटेको देखिएको छ। तर यो नेसनल गार्डको उपस्थिति कारण हो कि होइन भन्ने प्रस्ट छैन।
वासिङ्टन डिसी प्रहरीको तथ्यांकअनुसार मे २५ देखि नोभेम्बर २५ सम्म ६२ हत्याको घटना दर्ता भएको छ।गत वर्ष यही अवधिमा १०७ थियो।
त्यस्तै, अगस्ट १२ देखि अहिलेसम्म ६,५०० भन्दा कम आपराधिक घटना दर्ता भएका छन्। गत वर्ष यही अवधिमा करिब ९,५०० थियो।
ट्रम्प प्रशासनले यसअघि पनि लस एन्जेलस, सिकागो, मेम्फिस जस्ता डेमोक्र्याट–नेतृत्व राज्यहरूमा नेसनल गार्ड तैनाथ गरेको थियो।