ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रलाई भेहिकल-फ्री जोन बनाउने भएको छ।
महानगरका मेयर चिरिबाबु महर्जनले पाटन दरबार क्षेत्रलाई चरणबद्ध रूपमा भेहिकल फ्री जोन बनाउन लागेको बताए। उक्त कार्यक्रमको नाम पाटन पाइला पाइलैमा राखिएको छ।
उनका अनुसार पाटनमा भेहिकल फ्री जोन बनाउनु एकदमै चुनौतिपूर्ण काम भएकाले दुई वटा चरणमा यो कार्यक्रम लागु हुनेछ।
'हामीले दुई चरणमा यो कार्यक्रम लागु गर्दैछौं,' उनले भने, 'त्यसमा पाटनका स्थानीयहरूले पनि साथ दिनुहुन्छ भन्ने अपेक्षा र विश्वास छ।'
यसो त उनी यो पहिलोपटक भएकाले केही कठिन हुने मेयर महर्जनको भनाइ छ। तर यो कार्यक्रम दीर्घकालीन गर्ने योजना भएको उनले स्पष्ट पारे।
पहिलो चरणमा ममदु गल्ली, गौरीशंकर मन्दिरदेखि ओल्खु गणेश मन्दिरसम्म, भीमसेनस्थान मन्दिरदेखि स्वठ नारायणमन्दिरसम्म र स्वठ चोकदेखि क्यालखु चोक भेहिकल फ्री जोन हुनेछन्।
यी क्षेत्रमा मंसिर १३, १७ र २० गते दिउँसो १ बजेदेखि बेलुकी ६ बजेसम्म प्रवेश निषेध गरिएको छ। यी क्षेत्रमा मंसिर २४ र २७ गते पनि बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सवारी साधन निषेध गरिएको छ।
यस्तै, दोस्रो चरणमा तिछुगल्ली, मंगलबजार चोकदेखि चक्रबहिल चोकसम्म दिउँसो १ बजेदेखि बेलुकी ६ बजेसम्म निषेध गरिएको छ।
सोही क्षेत्रमा पुस १६ र १९ गते बिहान ८ बजेदेखि ७ बजेसम्म सवारी साधन निषेध गरिएको छ।
