रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीभ विटकफको बचाउ गरेका छन्।
ब्लुमबर्गले केहि दिन अघि विटकफ र पुटिनका विदेश मामिला अधिकारी यूरी उषाकोभ बीचको एउटा लीक भएको फोन कुराकानी प्रकाशित गरेको थियो। अक्टोबर १४ मा भएको सो कुराकानीमा पुटिनलाई ट्रम्पसँग फोनमा कुरा गर्न लाउने भनेर विटकफले उषाकोभलाई सुझाएका थिए।
कसरी पुटिनले ट्रम्पको तारिफ गरेर फुर्क्याए युक्रेनसँगको युद्ध रोक्ने योजनाका लागि मनाउन सक्छन् भनेर सिकाएका थिए।
नभन्दै विटकफको सुझाव अनुसार पुटिनले ट्रम्पसँग त्यसको केहि दिनमै कुरा गरे। अनि गत हप्ता मात्रै सबै रूसी माग समेटिएको ट्रम्पको २८ बुँदे शान्ति योजना सार्वजनिक भयो।
त्यो कुराकानी ब्लुमबर्गले सार्वजनिक गरेपछि विटकफ रूस र युक्रेनको युद्ध रोक्ने स्वतन्त्र सहजकर्ता नभएर रूस पक्षको मान्छे जस्तो देखिएको भनेर युक्रेन र युरोपमा मात्रै नभएर अमेरिकामा समेत टिप्पणी भएको छ।
यो परिप्रेक्ष्यमा पुटिनले विटकफलाई बुद्धिमान मान्छे भन्दै उनको बचाउ गरेका छन्। विटकफले रूसको नभएर अमेरिका र ट्रम्पको प्रतिनिधित्व गरिरहेको पुटिनले जिकिर गरे।
‘स्पष्ट रूपमा राष्ट्रपति ट्रम्पको आदेशमा विटकफ हामीसँग वार्ता गर्न मस्कोको यात्रा गरिरहेका छन्,’ पुटिनले किर्गिजस्तानको भ्रमणमा एक पत्रकार सम्मेलनमा बिहीबार भने।
‘शान्ति वार्ताको क्रममा रूसी र अमेरिकी प्रतिनिधिहरूले एकअर्कालाई गाली नगरी वा नथुकी बुद्धिमान व्यक्तिहरूले झैँ वार्ता गरिरहेका छन्,’ पुटिनले थपे।
ट्रम्प जस्तै घर जग्गा कारोबार गर्ने आफ्ना साथी विटकफलाई विदेश मामिलाको केहि अनुभव नभए पनि विशेष दूत बनाएर ट्रम्पले रूस र युक्रेनको मात्रै नभएर इसराइल र हमासको समेत युद्ध रोक्नका लागि खटाएका थिए।
उनले मस्कोमा पुटिनसँग धेरै पटक भेट गरिसकेका छन्। ट्रम्पको शान्ति प्रस्तावमा वार्ता जारी राख्न उनी आगामी हप्ता पुनः मस्को जाँदैछन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)