गजामा इसराइलको आक्रमणबाट मृत्यु हुनेको संख्या ७० हजार नाघेको छ।
गजाको स्वास्थ्य मन्त्रालयले विवरण सार्वजनिक गर्दै मृतकको संख्या ७० हजार एक सय पुगेको जनाएको छ।
इसराइलले हवाई हमला गर्दा ध्वस्त भएका भग्नावशेषहरुबाट तीन दिनमै ३ सय जनाभन्दा बढीको शव भेटिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
भग्नावशेषमा अझै धेरै मानिसहरूको शव भेटिन सक्ने आकलन गरिएको छ।
युद्धविराम भए पनि इसराइलले विभिन्न बहानामा गजामा आक्रमण गर्दै आएको छ। उसले हमासले युद्धविराम सम्झौताको उल्लंघन गरेकोदेखि नियन्त्रण रेखामा इसराइली सेनाको हत्या गरेको आरोप लगाउँदै गजामा हमासलक्षित हमला गरेको थियो।
गजामा दुई वर्षको युद्धमा मारिएको मानिसहरूको तथ्यांकबारे भने इसराइलले कुनै प्रतिक्रिया नदिएको रोयटर्सले जनाएको छ।
इसराइली पक्षले यसअघि गजाबाट आउने मृतकसम्बन्धी तथ्याङ्कको विश्वसनीयतामाथि प्रश्न उठाउँदै आएको छ, तर उसले आफ्नै आधिकारिक अनुमान पनि सार्वजनिक गरेको छैन।
सन् २०२३ अक्टोबर ७ मा हमासले इसराइलमा आक्रमण गरी करिब १,२०० जनाको हत्या र २५१ जनालाई बन्धक बनाएपछि गाजामा युद्ध सुरु भएको थियो।
त्यसपछि सुरु भएको इसराइली प्रत्याक्रमणले गाजाको ठूलो क्षेत्र ध्वस्त बनाएको छ।
युद्धका प्रारम्भिक महिनाहरूमा अस्पतालमा ल्याइएका शवका आधारमा मृतकहरू गणना गरिएको थियो। तर पछिल्ला चरणमा हजारौं मृत्युको प्रारम्भिक रिपोर्ट आए पनि फरेन्सिक, चिकित्सकीय र कानुनी जाँचपछि मात्रै आधिकारिक सूचीमा समावेश गरिएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
अक्टोबर १० देखि लागू भएको कमजोर युद्धविरामपछि भग्नावशेषमा खोजी गर्ने अवसर मिलेपछि मृतकको सङ्ख्या क्रमशः बढ्दै गएको छ।
केन्द्रीय गजाको बुरेज शरणार्थी शिविर नजिकै दुई वटा आवासीय भवनमा भएको हवाई आक्रमणमा आफ्नो परिवारका ६२ जना सदस्य गुमाएको मोआज म्घारीले रोयटर्सलाई बताएका छन्।
उनले विस्फोटको आवाजपछि घर फर्कँदा आफ्नै परिवार बस्ने भवन पूरै भग्नावशेषमा परिणत भएको दृश्य देखेको बताएका छन्।
'त्यो क्षणमै मैले सबै गुमाएँ, सबैलाई गुमाएँ,' उनले भने।
इसराइली सेनाले भने द्वन्द्व सुरु भएयता आफूहरूले सर्वसाधारणलाई लक्ष्य नगरेको दाबी गर्दै आएको छ।