भारी वर्षाका कारण गएको बाढी–पहिरोले यो साता एसियाले ठूलो विनाश झेल्नुपर्यो।
दक्षिण र दक्षिणपूर्वी एसियाका विभिन्न देशमा पछिल्लो एक साताभित्र १,१०० जनाभन्दा बढीको ज्यान गइसकेको छ भने सयौं हराइरहेका छन्। बाढी–पहिरोको प्रकोप कम नभएकाले हराइरहेका व्यक्तिको खोजी र उद्धार कार्य जोखिमपूर्ण बनेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था 'सिएनएन' का अनुसार इन्डोनेसिया, थाइल्यान्ड र मलेसियाका केही भागमा चक्रवातले ल्याएको भारी वर्षाले लाखौं मानिस गम्भीर बाढीको सामना गरिरहेका छन्। अर्कातिर श्रीलंकालाई छुट्टै आँधीले प्रभावित गरेको छ। आँधीका कारण केही क्षेत्र डुबानमा परेको छ भने श्रीलंकाले कहिल्यै नदेखेको जटिल मौसमी चुनौती सामना गरिरहेको छ।
श्रीलंकाली राष्ट्रपति अनुरा कुमारा दिशानायकले 'विगतमा देश कहिले पनि यति ठूलो मौसमी विपत्तिमा नफसेको' बताएका छन्।
उनको टिप्पणीले सन् २००४ को एसियाली सुनामीले पारेको क्षतिभन्दा यो प्रकोपको व्यापकता बढी भएको संकेत दिन्छ। यद्यपि उक्त घटनामा अहिलेभन्दा धेरै मानिसको मृत्यु भएको थियो।
एसियाभरि गत साता सुरू भएको भीषण वर्षाका कारण इन्डोनेसियामा हालसम्म कम्तिमा ६०४ जनाको मृत्यु भएको छ भने श्रीलंकामा ३९० जना, थाइल्यान्डमा १७६ जना र मलेसियामा २ जनाको मृत्यु भएको त्यहाँका सरकारी तथ्यांकले देखाएका छन्। यी सबै मुलुकमा कुल मृत्यु संख्या १,१७२ पुगेको छ।
इन्डोनेसिया
इन्डोनेसियाली उद्धार टोली बाढी–पहिरोले सबभन्दा प्रभावित क्षेत्र पुग्न संघर्ष गरिरहेको छ। इन्डोनेसियाको सुमात्रामा चक्रवातले विनाशकारी पहिरो र बाढी ल्याएको छ।
राष्ट्रपति प्राबोवो सुबियान्तो सोमबार टापुको उत्तरी भागका बाढीपीडितलाई भेट्न गए, जहाँ इन्धन आपूर्ति र सडक पहुँचमा समस्या रहेको सरकारी समाचार एजेन्सी अन्ताराले जनाएको छ।
सरकारी तथ्यांक अनुसार सोमबारसम्म कम्तिमा ६०४ जनाको मृत्यु भइसकेको छ र ४६० भन्दा बढी हराइरहेका छन्। सेना र प्रहरी पनि उद्धारका लागि परिचालन गरिएको छ।

सुमात्रामा हेलिकोप्टरमार्फत राहत सामग्री झारिएका भिडिओहरू देखिएका छन्। यो टापु घना वन, सक्रिय ज्वालामुखी र संकटग्रस्त बासस्थानका रूपमा चिनिन्छ।
'बाढी आयो, सबै कुरा सकियो,' उत्तरी एचे प्रान्तका एक बासिन्दाले रोयटर्सलाई भने, 'मैले कम्तिमा लुगाफाटा बचाउँला भनेको थिएँ, तर मेरो घर नै भत्कियो।'
४१ वर्षीया मौलिदिन नामकी महिलाले राति बाढीको आवाज सुनेपछि परिवारसहित घर छाड्नुपर्ने अवस्था आएको एएफपीलाई बताइन्।
स्थानीय प्रशासनका अनुसार केही मानिसले बाँच्नकै लागि खाद्यान्न र पानी लुट्नेसम्म गरिरहेको पाइएको छ।
'राहत सामग्री आउनुअघि नै लुटपाट भएको हो,' प्रहरी प्रवक्ताले एपीलाई भने, 'उनीहरूलाई थाहा थिएन, सहायता आइरहेको छ। भोकले मरिने डरले उनीहरू लुटपाटमा ओर्लेका थिए।'
थाइल्यान्ड
थाइल्यान्डको दक्षिणी भागमा प्रतिकूल मौसमका कारण १७६ जनाको मृत्यु भएको छ। यहाँ करिब २८ लाख मानिस प्रभावित भएका छन्।
डुबानमा परेका क्षेत्रमा बिरामीहरूलाई हवाई मार्गबाट सार्ने काम भइरहेको छ। अक्सिजन ट्यांकसहित महत्त्वपूर्ण सामग्री पुर्याउने काम भइरहेको रोयटर्सले जनाएको छ।
हट याइ सहरमा ३०० वर्षमा एक पटक हुने खालको वर्षा भएको र मंगलबार बाढी आठ फिटभन्दा उचाइमा पुगेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्।

यो क्षेत्रमा सरकारले आपतकालीन स्थिति घोषणा गरेको छ।
एक स्थानीय नर्सिङ होमकी सञ्चालक वासना सुथीले सिएनएनलाई भनिन्, 'सिंगो आकाशले नै हामीसँग रिसाएजस्तो रौद्ररूप देखाइरहेको थियो। रोकिने नामै थिएन।'
उद्धार क्रममा हेलिकप्टरबाट खसालिएका खाना खाएर गुजारा चलाएको उनले बताइन्।
'म धेरै रोएँ। बिरामीहरूलाई जोगाउन नसकिएला कि भन्ने डरले म कामिरहेको थिएँ,' उनले भनिन्।
शुक्रबार यहाँ ६ देशका १० जना पर्यटकलाई उद्धार गरिएको छ। अहिले परिस्थितिमा सुधार आएको र अधिकांश स्थानबाट पानी घटिसकेको अधिकारीहरूले बताएका छन्।
श्रीलंका
दक्षिण एसियाली मुलुक श्रीलंकामा ११ लाखभन्दा बढी मानिस 'दित्वा' चक्रवातले ल्याएको पहिरो र बाढीबाट प्रभावित भएका छन्। कम्तिमा ३९० जनाको मृत्यु भएको र ३५२ जना हराइरहेको विपद् व्यवस्थापन केन्द्रले जनाएको छ।
यहाँ २५ हजारभन्दा बढी घर नष्ट भएका छन् भने १ लाख ४७ हजार जना अस्थायी शिविरमा बस्न बाध्य छन्।

धेरै परिवार बाढी र पहिरोमा चार दिनदेखि फसिरहेका छन्। बिजुली र फोन सेवा नहुँदा सहयोग माग्ने अवस्था नरहेको 'भ्वाइस फर द भ्वाइसलेस' संस्थाले सिएनएनलाई बताएको छ।
यो संस्थाले हालसम्म ४,००० जनालाई खाना बाँडिरहेको छ। पानी घटेपछि उनीहरूले रासन र घरेलु सामग्री वितरण गर्ने योजना बनाएका छन्।
राजधानी कोलम्बो नजिकै धेरै परिवार अहिले पनि कपडा बोकेर बाढी छिचोल्दै हिँडिरहेका छन्। मस्जिदहरूले जोखिममा परेकाहरूका लागि खाना खुवाइरहेका छन्।
मलेसिया
मलेसियामा पनि शुक्रबार मध्यरात आएको तुफानले दुई जनाको मृत्यु भएको छ।
अहिलेसम्म ३४ हजार जनालाई सुरक्षित क्षेत्रतर्फ सारिएको छ। तर उत्तरी पर्लिस राज्यका एक वृद्ध दम्पती बढ्दो पानीले घेरिएपछि खेतमै फसे। अन्ततः उनीहरूका बच्चाहरूले उद्धार गरी शिविरमा लगे।
'पानी समुद्रजस्तै थियो,' ७३ वर्षीया गोन् कसिमले रोयटर्सलाई सुनाइन्।

मौसम वैज्ञानिकहरू के भन्छन्?
यी प्रलयकारी आँधीमा जलवायु परिवर्तनले कति भूमिका खेलेको हो भनेर ठ्याक्कै भन्न केही समय लाग्छ।
मौसम वैज्ञानिकहरूको धारणा भने स्पष्ट छ — विश्वव्यापी तापक्रम वृद्धिले समुद्र तात्तिँदै गएको छ। यसले समुद्री आँधीलाई थप शक्तिशाली बनाउँछ र पहिलेभन्दा निकै ठूलो वर्षा ल्याउँछ।
इन्डोनेसिया, थाइल्यान्ड र मलेसियासहित दक्षिण–पूर्वी एसिया जलवायु परिवर्तनको सबभन्दा संवेदनशील क्षेत्रमध्ये एक हो।
यसअघि नोभेम्बरमा भीषण बाढीले भियतनाममा डरलाग्दो विनाश ल्याएको थियो। फिलिपिन्समा एकै सातामा दुई घातक चक्रवातले १४ लाख मानिसलाई विस्थापित गरेको थियो।
(अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका आधारमा)
***