बर्दिया प्रहरीले जेलबाट भागेकी सहित तीन जना फरार प्रतिवादी पक्राउ गरेको छ।
भदौ २४ गते जेनजी आन्दोलनको मौका छोपी केन्द्रीय कारागार काठमाडौंबाट भागेकी ४४ वर्षीया सीता खत्री भण्डारी पक्राउ परेकी छन्।
जिल्लाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीका अनुसार बाँकेको कोहलपुर नगरपालिका–१२ की हुन्।
बैंकिङ कसुर मुद्दामा चार वर्ष कैद भुक्तान गर्न बाँकी रहेकी भण्डारी जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेकी थिइन्। पक्राउपछि हाल उनलाई आवश्यक कारबाहीका लागि कारागार सुरक्षा गार्ड गुलरिया बर्दियामा पठाइएको छ।
त्यस्तै लागुऔषध ब्राउन सुगर सम्बन्धी मुद्दामा १३ दिन कैद सजाय तोकिएका २८ वर्षीय घनश्याम खत्री पक्राउ परेका छन्।
जिल्ला अदालत बर्दियाले २०८१/१०/२७ गते १३ दिनको कैद सजायको फैसला सुनाएको थियो।
लागुऔषध मुद्दामै ६ महिना कैद सजाय तोकिएका ३२ वर्षीय बन्सा भनिने अंकित चौधरी पनि पक्राउ परेका छन्। जिल्ला अदालतले २०८१/०७/१२ गते आगुऔषध मुद्दामा दोषी ठहर गर्दै ६ महिनाको कैद सजाय सुनाएको थियो।
दाङमा १५ दिनमा ३८ फरार प्रतिवादी पक्राउ
दाङ प्रहरीले बितेको १५ दिनको अवधिमा ३८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
मंसिर १ गतेदेखि १५ गतेसम्म विभिन्न अभियोगका ३८ जना फरार प्रतिवादीलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीको प्रक्रियामा लागि पठाइएको दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन्।
उनीहरूबाट ६ लाख ५९ हजार सात रुपैयाँ राजस्व संकलन भएको डिएसपी शाहले बताए।
उनीहरूले ९ वर्ष २ महिना २ दिन कैद सजाय भुक्तान गर्नुपर्ने छ।