बुधबार बिहानैदेखि मौसम धुम्मिएको छ। आकाशमा टम्म बादल लागेको छ।
बादलले ढाकेकाले तुलनात्मकरूपमा धेरै चिसो महसुस त भएको छैन, तर मौसमको प्रकृति हेर्दा पानी पर्ने अनुमान मानिसहरूले गरिरहेका छन्।
मौसमविद विनोद पोखरेलले आज पानी पर्ने सम्भावना भने देखेका छैनन्।
उनका अनुसार आज र भोलि केही ठाउँमा बादल लाग्ने सम्भावना छ। पश्चिमबाट आएको केही आद्र हावाले यस्तो देखिएको हो। जसलाई मौसमी भाषामा पश्चिमी वायु पनि भनिन्छन्। हिउँद याममा नेपालमा पश्चिमी वायुको प्रभाव हुन्छ। मंसिर १५ गतेदेखि हिउँद याम पनि सुरू भएको छ। यो हिउँद याममा तुलनात्मकरूपमा कम पानी पर्ने प्रक्षेपण गरिएको छ।
‘कमजोर पश्चिमी वायुको आज र भोलि केही ठाउँमा बादल लागे पनि वर्षाको सम्भावना छैन,’ पोखरेलले भनेका छन्।
उनले आज र भोलि चिसो थोरै बढ्नसक्ने उनले औंल्याएका छन्। शुक्रबारदेखि मौसम पुनः घमाइलो मौसम छ।
त्यसो त अर्को हप्ता पनि मौसम धुम्मिने सम्भावना छ। तर त्यस प्रणाली पनि वर्षा गराउने सम्भावना भने छैन।
‘अर्को हप्ताको आइतबारदेखि चिसो बढाउने तर वर्षा नगराउने पश्चिमी वायु थप दुई–तीन दिन रहने देखिन्छ,’ उनले प्रक्षेपण गरेका छन्।