तुलसीपुर उपमहानगरपालिका – ५ (क) लाइनको विपी चोकस्थित ‘राधे राधे दिनेश ज्वैलर्स’ पसलमा सुनका गर गहना खरिद गर्न भनेर एक जना अधबैंसे पुरूष आउँछन्।
जसले त्यहाँबाट पाँच लाख ३१ हजार चार सय मूल्य बराबरको सुनका गरगहना पनि खरिद गर्छन्। पसल धनीलाई चेक दिन्छन्।
यो मंसिर ८ गते बेलुकी पखको कुरा हो।
पसल धनी चेक साट्न बैंक जाँदा सुन किन्न आएका व्यक्ति पसलमै बस्छन्। दिएको चेक साटिएपछि मात्रै त्यहाँबाट जाने समझदारी ग्राहक र पसल धनीका बीचमा हुन्छ।
सुनका गरगहना खरिद गर्न आएका व्यक्ति प्यूठान जिल्लाको गौमुखी गाउँपालिका–७ को नारीकोट चौताराका ४५ वर्षीय देवेन्द्र पुरी थिए।
पसल धनीलाई दिएको चेकबाटै उनको नाम स्पष्ट खुल्थ्यो।
पसल धनी बैंक जाँदा कालीगढ भने पसलमै थिए। तर, उनीहरू केही पछाडि आफ्नो काममा तल्लीन थिए। पुरीको मनमा लालच जाग्छ। मौकाको फाइदा उठाउँदै उनले सोकेसका राखेको एउटा तयारी अवस्थाको आठ आनाको तिलहरी सुटुक्क निकाल्छन्। पसल धनी र पुरीबीच फोनमा कुराकानी हुँदा चेक साटेको कुरा बताउँछन्। त्यसपछि पुरीले कालीगढलाई पैसा निकालिसकेको हुँदा आफू जान चाहेको कुरा गर्छन्। कालीगढको आशंका मेटाउन पुरीले जाँदाजाँदै आफ्नो सम्पर्क फोन नम्बर पनि उनलाई दिएर जान्छन्।
पसल धनी आउँदा पुरी गइसकेका थिए। साँझ परिसकेको थियो। त्यसपछि पसल धनीले गरगहना भल्टमा थन्काउन थाल्छन्। त्यो क्रममा उनले एउटा तिलहरी फेला पार्न सक्दैनन्। अर्को दिन उनले सिसी टिभी फुटेज हेर्छन्। त्यहाँबाट तिनै सुन किन्न आएका पुरीले नै तिलहरी चोरी लगेको प्रमाण भेट्छन्। सोही प्रमाणका आधारमा पसल धनी इलाका प्रहरी कार्यालयमा पुगेर आफ्नो पसलमा भएको चोरीबारे निवेदन दिन्छन्। सम्बन्धित व्यक्तिको खोजी गरी आवश्यक कारबाहीका लागि माग गर्छन्।
घटनाको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्री सहितको प्रहरी टोलीले अध्ययन गर्छ। पुरी रिटायर्ड शिक्षक अर्थात् पूर्वशिक्षक हुन्।
पुरी प्यूठानका भएको यकिन भइसकेपछि जिल्ला प्रहरी कार्यालय प्यूठानसँग समन्वय हुन्छ।
प्यूठानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक युवनकुमार चौधरीका अनुसार आरोपी पुरीलाई जिल्ला प्रहरी कार्यालय प्युठान र अस्थायी प्रहरी पोष्ट बागदुलाबाट खटिएको प्रहरी टोलीले प्यूठान नगरपालिका – ८ बाग्दुलास्थित एक लजबाट मंसिर १५ गते नियन्त्रणमा लिएको थियो।
पुरी होटलमा कोठा भाडामा लिएर लुकीछिपी बस्दै आएका थिए।
पुरीको साथबाट तुलसीपुरको सुन पसलबाट चोरी लगेको ५४.७५० ग्राम अर्थात् ८ आनाको सुनको तिलहरी पनि बरामद भएको प्रहरी निरीक्षक चौधरीले बताए।
पक्राउपछि आरोपी पुरीलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा पठाइएको हो।
पुरीमाथि अदालतबाट म्याद थप भई थुनामा राखेर आवश्यक अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीले बताए।