घटना बाँकेको हो, मंसिर १२ गतेको।
इलाका प्रहरी कार्यालय कोहलपुर पुगेका एक युवकले एउटा शवबारे जानकारी दिए। युवक बैजनाथ गाउँपालिकाका-२ पितमारीका १९ वर्षीय नारायण परियार थिए।
इलाका प्रहरी कार्यालयका इन्चार्ज चक्रडम्मर पालले ती युवकका सम्पूर्ण कुरा सुने। कुरा सकिएपछि प्रहरीले तत्कालै ती युवकलाई हत्कडी लगाए र घटनाको अनुसन्धान अगाडि बढायो।
नारायणले एक महिलाको शव बैजनाथ गाउँपालिका-१ स्थित देउराली हरियाली सामुदायिक वनको खोल्सामा रहेको भनेर डिएसपी पाललाई जानकारी दिएका थिए।
डिएसपी पालले तत्कालै त्यहाँ प्रहरी पठाए। नारायणले भनेजस्तै महिलाको शव रहेको पुष्टि भएपछि प्रहरीले उनलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान थालेको थियो।
खोल्सामा मृत भेटिएकी महिला खजुरा गाउँपालिका-६ कि २२ वर्षीया देविसरा खत्री थिइन्। देविसरा नारायणकी पूर्वपत्नी समेत हुन्।
देविसराको खोजी गरिदिन भनेर उनकी आमाले जिल्ला प्रहरी कार्यालय बाँकेमा निवेदन दिएकी थिइन्। जिल्लाले मातहतका सबै कार्यालयमा त्यसको विवरण पठाइसकेको थियो।
सोही अनुसार खोल्सामा भेटिएको शव हराएकी भनिएकी तिनै महिलाको रहेको पुष्टि भएको थियो।
देविसराको शव खोल्सामा फाल्ने व्यक्ति नारायण नै थिए। सोही कारण प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो।
प्रहरीको अनुसन्धानअनुसार मंसिर १० गते नै नारायणले देविसराको शव खोल्सामा फालेका थिए।
त्यस रात उनीहरू वैजनाथ गाउँपालिका-१ स्थित कोहलपुर–सुर्खेत सडक खण्डको चिसापानी नजिकैको एउटा होमस्टेमा बसेका थिए। मध्यरातमा ब्युँझिएर देविसरालाई झकझकाउँदा उनको मृत्यु भइसकेको थाहा पाएपछि आफू फस्ने डरले नारायणले देविसराको शव राति नै होमस्टेबाट ६/७ सय मिटर पर जंगलको खोल्सामा फालेको भनेर प्रहरीलाई बयान दिएका छन्।
नारायणको घर होमस्टेबाट धेरै टाढा होइन। तर उनीहरू किन घर नगई होमस्टेमा बसे भनेर प्रहरीले अनुसन्धान गरेको थियो।
डिएसपी पालका अनुसार नारायण र देविसराले तीन वर्षअघि प्रेम विवाह गरेका थिए।
नारायण अत्यधिक मदिरा सेवन गर्ने र देविसरा लागुऔषध सेवनकर्ता भएको पनि नारायणकै बयानबाट खुलेको छ।
दुवै जना कुलतमा फसेका कारण हरेक दिनजसो झगडा पनि हुने गरेको र त्यो क्रम बढेपछि दुवैले अलग हुने निर्णय गरेका थिए। दुवैका घर परिवार पनि यसमा सहमत थिए। त्यसपछि देविसरा माइतीमा बस्न थालेकी थिइन्।
माइतीमै रहँदा देविसरा वैदेशिक रोजगारीका लागि कुवेत गएकी थिइन्। कुवेत पुगे पनि देविसरा र नारायणबीच सामाजिक सञ्जालमार्फत कुराकानी भइरहेको थियो।
कुवेतमा १४ महिना बसेपछि देविसरा नेपाल फर्किइन्। फर्केपछि उनीहरुबीच भेट्ने सहमति भयो। त्यही दिन नारायणले अर्की एक युवतीलाई घर भित्र्याउने तयारी गरेका रहेछन्।
तर देविसरासँग भेट्ने तय भएपछि उनले आफूले अर्को युवतीलाई समेत धोका दिएको भनेर नारायणले प्रहरीसँग बयानमा भनेका छन्।
होमस्टेमा रात बिताउँदा आफू मदिरा र देविसरा लागुऔषधको नसामा निदाएको भनेर नारायणले बयानमा बताएका छन्।
एक्कासि बिहानको २ बजेतिर निद्रा खुल्दा मदिराको नसा केही कम महसुस भएको बताएका छन्। त्यसपछि देविसरालाई घच्घचाएर ब्युँझाउन खोज्दा उनको शरीर चिसो भइसकेको पाएको उनले बताएका छन्।
त्यतिबेला आफू निकै अत्तालिएको र फस्छु भन्ने त्रास उत्पन्न भएको नारायणले बताएका छन्।
'त्यसपछि शव व्यवस्थापन गर्ने उपाय सोचेँ। त्यसो गर्न सके आफू जोगिन्छु कि भन्ने लाग्यो। घोप्टो अवस्थामा रहेको देविसराको शव जसोतसो काँधमा राखे र घरबाहिर निस्किएँ,' उनले प्रहरीलाई बयानमा भनेका छन्।
उनले राति नै शव देउराली हरियाली सामुदायिक वनको खोल्सामा पुर्याएका थिए। त्यो स्थान होमस्टेदेखि झन्डै पाँच/सात मिटर टाढाको दुरीमा थियो। त्यो ठाउँमा होमस्टेले फोहोर फाल्थ्यो।
डिएसपी पालका अनुसार मदिराका बोत्तल, बोरा र नकुहिने फोहोरका डंगुर देखेपछि नारायणले देविसराको शव त्यहीँ लगेका थिए। 'खोल्सामा पुर्याएपछि शवलाई त्यही फोहोरले छोपे र उनी घर आएँ,' नारायणले प्रहरीलाई भनेका छन्।
प्रहरीले होमस्टे सञ्चालकसँग सोधपुछ गरेको थियो।
होमस्टे संचालकले राति बसेका युवायुवती बिहान कोठामा नभेटिएको बताएका छन्। लाजका कारण चाँडै उठेर बाटो लागेका होलान् भन्ठानेको पनि सञ्चालकले प्रहरीलाई बताएका छन्।
भाडा अघिल्लो रात नै उनीहरूले दिइसकेका थिए। १०० रूपैयाँ लिन बाँकी थियो। उनीहरूले आफ्नो ठेगाना र सम्पर्क नम्बर पनि नछाडेका कारण धेरै निधिखोजी नगरेको बताएका छन्।
शवको पोस्टमर्टम रिपोर्ट आउने क्रममै भएकाले त्यसपछि मात्रै थप खुल्ने प्रहरीले जनाएको छ।
देविसराको माइती पक्षले भने घाँटीमा निलडाम देखिएकाले उनको हत्या भएको हुनसक्ने बताएका छन्।
नारायणविरूद्ध ज्यान मुद्दामा ७ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको डिएसपी पालले जानकारी दिए।