अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ह्वाइट हाउसमा आयोजित मन्त्रिपरिषद बैठकमा निदाए जस्तो देखिएका छन्।
दुई घण्टा १८ मिनेट चलेको बैठकभरी ७९ वर्षीय ट्रम्पले आँखा चिम्लिएका र बेलाबेलामा निदाएको जस्तो देखिएको भनेर द न्यू योर्क टाइम्सले लेखेको छ।
मन्त्रिपरिषद्का अधिकारीहरूले पालैपालो आफ्ना कामको वर्णन गर्दै र ट्रम्पको तारिफ गरिरहँदा कहिलेकाहीँ आफ्ना आँखा खुला राख्न संघर्ष गरिरहेका देखिन्थे।
उनीभन्दा बढी उमेरका अघिल्ला राष्ट्रपति जो बाइडेन थकित देखिने भनेर 'स्लिपी जो' नाम राखेका ट्रम्प आफै भने एक महिनाभन्दा कम समयमा सार्वजनिक कार्यक्रममा निदाएको जस्तो देखिएको यो दोस्रो पटक थियो। यसअघि नोभेम्बर ६ मा ह्वाइट हाउसको एक कार्यक्रममा पनि राष्ट्रपतिको आँखा भारी भएर धेरै सेकेन्डका लागि चिम्लिएका थिए।
सो घटनाको मिडियाले समाचार बनाएको र उनको उमेर र स्वास्थ्यबारे प्रश्न समेत उठाएपछि ट्रम्प सरकारका अधिकारीहरू मिडियासँग रिसाएका छन्।
मंगलबारको बैठकपछि ट्रम्प निदाएका थिए कि भनेर सोधिएको प्रश्नमा ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लिभिटले ट्रम्पले ध्यानपूर्वक सुनिरहेको र सम्पूर्ण बैठकको नेतृत्व गरिरहेको बताइन्।
ट्रम्प पछिल्लो समय सार्वजनिक कार्यक्रममा निदाएको जस्तो देखिए पनि प्रायः जसो सञ्चार माध्यमहरू सामु देखा पर्छन्। बाइडेनको तुलनामा पत्रकारका धेरै प्रश्नहरूको जबाफ पनि दिन्छन्।
सोमबार राति अबेरसम्म जागा रहेकाले पनि मंगलबार उनलाई समस्या भएको हुन सक्छ। सोमबार राति झन्डै मध्यरातसम्म सामाजिक सञ्जालमा उनले दर्जनौं सामग्री पोस्ट वा सेयर गरेका थिए।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)