झण्डै १२ वर्षअघि बेपत्ता भएको मलेसिया एअरलाइन्सको एमएच ३७० विमानको खोजी फेरि सुरू हुने भएको छ।
मलेसियाको यातायात मन्त्रालयले बुधबार एक विज्ञप्ति निकाल्दै डिसेम्बर ३० बाट खोजी कार्य पुनः सुरू हुने बताएको छ।
अमेरिकी रोबोटिक कम्पनी ओसन इन्फिनिटीले ५५ दिनको अवधिमा समुद्रको सतहको खोजी कार्यलाई सञ्चालन गर्ने सो विज्ञप्ति जनाएको छ।
नयाँ खोजी कार्यले बेपत्ता विमान फेला पर्ने उच्च सम्भावना भएका क्षेत्रहरूलाई लक्षित गर्नेछ। तर ती स्थानहरू कुन हुन् भनेर चाहिँ मलेसियाले खुलाएको छैन।
सन् २०१४ मार्च ८ मा क्वालालम्पुरदेखि बेइजिङ सम्मको नियमित उडानका क्रममा एमएच ३७० आफ्नो मार्गबाट भड्किएर हवाई ट्राफिक राडारबाट बेपत्ता भएको थियो। विमानमा १२ मलेसियाली चालक दलका सदस्य र २२७ यात्रुहरू थिए।
तीमध्ये अधिकांश चिनियाँ नागरिक थिए। जहाजमा ३८ मलेसियाली यात्रुहरू, सात अस्ट्रेलियाली नागरिक र बासिन्दाहरू, साथै इन्डोनेसिया, भारत, फ्रान्स, अमेरिका, इरान, युक्रेन, क्यानडा, न्यूजिल्याण्ड, नेदरल्याण्ड, रूस र ताइवानका नागरिकहरू थिए।
यसलाई उड्डयन इतिहासकै सबैभन्दा ठूला रहस्यहरूमध्ये एकको रूपमा लिइन्छ।
बेपत्ता भएयताका वर्षहरूमा, विमानको भग्नावशेष पत्ता लगाउन हिन्द महासागरको ठूलो भागमा बहुराष्ट्रिय र निजी प्रयासहरू गरिए पनि सफलता हात लागेको छैन।
गत वर्ष मलेसियाले यदि कुनै बलियो नयाँ प्रमाण फेला परेमा बेपत्ताको घटनामाथि अनुसन्धान पुनः खोल्न तयार रहेको बताएको थियो। त्यसपछि समुद्रमा नयाँ १५ हजार वर्ग किलोमिटर क्षेत्रमा खोजी पुनः सुरू गर्न मलेसियाले ओसन इन्फिनिटीसँग 'नो-फाइन्ड, नो-फी' (फेला नपारेमा शुल्क नलाग्ने) सम्झौता गरेको थियो।
सम्झौता अनुसार भग्नावशेष फेला परेमा मात्र ओसन इन्फिनिटीलाई सात करोड डलर भुक्तानी गरिनेछ। तर गत अप्रिलमा खराब मौसमका कारण दक्षिणी हिन्द महासागरमा गरिएको सबैभन्दा पछिल्लो खोजी कार्य रोकिएको थियो। त्यसै सम्झौता अनुसार ओसन इन्फिनिटीले फेरि खोजी सुरू गर्न लागेको हो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)