काठमाडौंको धोबीखोलामा एक पुरूष मृत भेटिएका छन्।
बिहीबार बिहान मदन भण्डारी मेमोरियल कलेज जाने धोबिखोला पुलमुनि एक पुरूषको शव फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।
खोलामा शव नजिकै एउटा साइकल पनि देखिएको छ। मृत भेटिएका पुरूष अन्दाजी २५/३० वर्षका छन्। पहिचान भने खुलेको छैन।
एसपी भट्टराईका अनुसार पुलमा रेलिङ नभएका कारण ती साइकलयात्री पुलबाट खोलामा खसेको हुनसक्ने अनुमान गरिएको छ।
'पुलको डोरी चुँडिएको देखिएको छ। टाउकोमा चोट छ। पुलबाट खस्दा ढुंगामा टाउको ठोक्किएको जस्तो देखिन्छ,' उनले भने।
प्रहरीले शव खोलाबाट निकालेर अस्पताल पठाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिए।