चितवनको कसरा पर्यटन व्यवसायी समिति र सिक्किमको सिक्किम युनाइटेड टुरिजम अर्गनाइजेसन बीच 'भगिनी सम्बन्ध' गाँसिएको छ।
नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवन र भारतको सिक्किमबीच पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने उद्देश्यले भगिनी सम्बन्ध सुरू गरिएको हो।
बिहीबार कसरामा गरिएको एक कार्यक्रममा कसरा पर्यटन व्यवसायी समितिका उपाध्यक्ष चोपलाल पाण्डे र सिक्किम युनाइटेड टुरिजम अर्गनाइजेशनका अध्यक्ष गणेश सिवाकोटीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
दुई पक्षबीच ‘वारिपारिको सम्बन्ध’लाई अझै प्रगाढ तथा गाढा बनाई विविध विधामा सहयोग आदानप्रदान गर्ने सहमति भएको छ।
यसमा दुई पक्षीय पर्यटन आदानप्रदान गर्दै नयाँ सम्भावनाहरूको अध्ययन गर्ने कुरालाई जोड दिइएको सिक्किम युनाइटेड टुरिजम अर्गनाइजेशनका अध्यक्ष सिवाकोटीले जानकारी दिए।
दुई पक्षबीच आतिथ्य सत्कार, सीपहरू, अर्गानिक खेती प्रणाली र पर्यावरण तथा वातावरण संरक्षणमा हासिल गरिएका अनुभवहरू आदानप्रदान गरिने उनले बताए।
सम्झौताले दीगो पर्यटन विकासका लक्ष्यहरू निर्धारण गर्दै सँगै अगाडि बढ्ने र ग्रामीण पर्यटनमा सहकार्य मार्फत दीगो आर्थिक विकासको लक्ष्य हासिल गर्न प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यसैगरी, सीमापार पर्यटन प्याकेज प्रवर्द्धन गर्ने र दुवैतर्फ आयोजना हुने आधिकारिक कार्यक्रममा अनिवार्य प्रतिनिधिमूलक सहभागिता जनाउने सहमति भएको छ।
अध्यक्ष सिवाकोटीले यो सम्झौता पर्यटक आदानप्रदानमा सहयोगी हुने र वारिपारिको सुमधुर पर्यटकीय सम्बन्ध विकास गर्ने बताए। सिक्किमको पर्यटन विभागकी पर्यटन अधिकृत गीता गुरुङ ले पनि यसलाई पर्यटक मात्र नभई भारत र नेपालका जनता बीचको सम्बन्ध विकास गर्ने महत्त्वपूर्ण अवसर भएको बताइन्।
कसरा पर्यटन व्यवसायी समितिका उपाध्यक्ष चोपलाल पाण्डेले यो भगिनी सम्बन्धले कसरा र सिक्किम दुवै पर्यटकीय क्षेत्रमा ठूलो ऊर्जा मिल्ने विश्वास व्यक्त गरे। उनले चितवनको वन र वन्यजन्तुमा आधारित पर्यटन, समुदायमा आधारित पर्यटन र थारु संस्कृतिलाई सिक्किमको पर्यटनसँग जोड्ने अवसर मिल्ने बताए।
दुई संस्थाबीचको सहकार्य संरक्षण र दिगो पर्यटनमा केन्द्रित हुने जानकारी कसरा पर्यटन व्यवसायी समितिका सचिव केशव ढकालले दिए।
सम्झौताअनुसार विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र सिक्किमको कञ्चनजंघा राष्ट्रिय निकुञ्जको संरक्षणमा भएका प्रयत्नहरूको अनुभव आदानप्रदान गरिने भरतपुर-२२ का वडाध्यक्ष विष्णुराज महतोले बताए। यसले दुई देशबीचको वन्यजन्तु र प्रकृति संरक्षणका लागि बल पुग्ने अपेक्षा गरिएको छ। महतोले सिक्किमको समुदायमा आधारित ग्रामीण पर्यटनबाट नेपालले र नेपालको इको पर्यटनबाट सिक्किमले सिक्नसक्ने भएकाले दुबै क्षेत्रले लगानीमैत्री वातावरण बनाएर पर्यटक बढाउनुपर्ने बताए।
सिक्किममा पहाडी र हिमाली क्षेत्रमा प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, माउण्टेन क्लाइम्बिङ, ट्रेकिङ पर्यटकको रोजाइमा पर्छ। साथै ग्रामीण पर्यटन, होमस्टे, अर्गानिक खाना सिक्किमका विशेषता हुन्। छंगु लेक, बाबा मन्दिर, नाथुला, डोक्लाङ, पेलिङ, नाम्ची, लाचेन-लाचुङ, जुलुक, ग्रिन लेक, गोचला, जोङ्ग्री सिक्किमका मुख्य पर्यटकीय गन्तव्य हुन्।
चितवनमा मुख्य पर्यटकीय गन्तव्य चितवन राष्ट्रिय निकुञ्ज, सामुदायिक वनहरु, पटिहानी, जगतपुर, मेघौली, सौराहा, देवघाटलगायत छन्।
सिक्किम युनाइटेड टुरिजम अर्गनाइजेशनका सचिव नेविद गौतमले दुई संस्था मिलेर संस्कृति आदानप्रदान, पर्यटन महोत्सव, सीप विकास, क्षमता वृद्धि र एडभेञ्चर तथा वाइल्डलाइफ पर्यटनमा सहकार्य जस्ता कार्यक्रमहरू सञ्चालन गर्न सकिने बताए। यसका लागि दुई पक्षीय बजार प्रवर्द्धन र डिजिटल प्लेटफर्मको संयुक्त उपयोग गर्न सकिने उनी बताउँछन्।
भगिनी सम्बन्ध स्थापना गर्ने कार्यक्रममा सिक्किमबाट १६ सदस्यीय टोली चितवन आइपुगेको थियो। टोलीका सदस्य सिक्किमका पत्रकार अम्बर गुरुङले भगिनी सम्बन्ध गाँसिएसँगै दुई पक्षले एक अर्काको पर्यटन क्षेत्रलाई उजागर गर्दै जाने बताए।