चालु आर्थिक वर्षमा हालसम्म २ हजार ८८ वटा सडक दुर्घटनाबाट ६९ जनाको मृत्यु भएको छ।
शुक्रबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय युवा परिषदको आयोजनामा सडक दुर्घटना न्यूनीकरण गर्न ‘लिमिट द स्पिड, सेभ द लाइफ’ नारा सहितको अभियान सञ्चालन भएको हो।
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना भएको हो।
कार्यक्रममा कार्यालयले प्रवक्ता एवं एसपी नरेशराज सुवेदीले दुर्घटनाका तथ्यांकहरू प्रस्तुत गरे।
आर्थिक वर्ष ०७९/०८० मा १० हजार ६७५, आ.व.०८०–०८१ मा ८ हजार ८८१ र आ.व. ०८१/०८२ मा ७ हजार १६९ दुर्घटना भएको प्रहरीले जनाएको छ।
एसपी सुवेदीले सडक दुर्घटनाको संख्या वर्षेनी घट्दै गएपनि मृत्युदर बढिरहेको बताए। सडक दुर्घटनाका कारण मृत्युदर ७.३४ प्रतिशत बढेको उनले बताए।
‘यस आर्थिक वर्षको दुर्घटनाको विवरण हेर्दा पनि २ हजार ८८ वटा दुर्घटना भएका छन्। जसमा ६९ जनाको मृत्यु भएको छ। सबैभन्दा धेरै दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको छ,’ उनले भने।
उनका अनुसार दुर्घटनाको प्रमुख कारण चालकले तीव्र गति, लापरबाही, मापसे, नियमको पालना नगर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने, गाडी नियमित रूपमा मर्मत सम्भार नगर्ने लगायत कारणले हुने गरेको छ।
सबैभन्दा धेरै दुर्घटना माघ र फागुन महिनामा भएको तथ्यांक छ। त्यस्तै बारको हिसाबले शुक्रबार र बुधबार धेरै दुर्घटना हुने गरेको तथ्यांक छ।
सडक दुर्घटना न्यूनीकरण गर्न स्वयमसेवक परिचालन
दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक प्रहरीले स्वयमसेवक समेत परिचालन गरेको छ।
शुक्रबारदेखि ६० जना भन्दा बढी युवाहरूलाई सडकमा स्वयमसेवकको रूपमा परिचालन गरेको हो। उनीहरूलाई सचेतनाका लागि दिइएको स्टिकर टाँस्ने र सडकमा ट्राफिक नियम पालना गराउनका लागि खटाउने तयारी छ।
कार्यालयले शुक्रबार आयोजना गरिएको कार्यक्रममा केही सवारी चालकलाई समेत पुरस्कृत गरिएको थियो।