न्यूरो इन्टरभेन्सन भनेको एउटा उपचार प्रविधि हो। ब्रेन ह्यामरेज लगायत मस्तिष्कमा हुने विभिन्न समस्याको उपचारमा यो निकै प्रभावकारी मानिन्छ।
रगतको नलीको माध्यमबाट मस्तिष्कमा पुगेर मस्तिष्कको नलीहरूको उपचार गर्ने हो।
जस्तो, कुनै नली बन्द भयो, ब्रेन ह्यामरेज भयो अर्थात् कतैबाट गएर रगत जम्यो भने त्यसको उपचार गर्न न्यूरो इन्टरभेन्सन पद्धति अपनाइन्छ। जसले गर्दा सधैंभरि प्यारालाइसिस हुनबाट बचाउन सकिन्छ।
प्रेसर, नलीको आफ्नै रोग लगायतका विभिन्न कारणले रगतको नली फुट्ने हुन्छ। यस्तो बेला विभिन्न माध्यमबाट फुटेको ठाउँ बन्द गर्न सकिन्छ।
न्यूरो इन्टरभेन्सन पद्धतिबाट टाउकोमा केही नगरी हात र खुट्टाको नशाबाट कपालको रौं जत्रो तार शरीरभित्र छिराएर अपरेसन गरिन्छ।
यदि हातखुट्टाबाट सम्भव भएन भने घाँटीबाट र त्यो पनि सम्भव नभए जुनसुकै नशाबाट तारलाई भित्र छिराउन सकिन्छ।
यो प्रविधिबाट टाउको नखोलिकन अपरेसन गर्न सकिन्छ।
जस्तो: दिमागको नशामा बेलुन भएको छ भने यो प्रविधिको सहयोगबाट त्यहाँ क्वाइल हालेर टाल्दिन्छौं। अथवा कहिलेकाहीँ विशेष खालको स्टेन्ट हाल्नुपर्ने हुन्छ। त्यस्तै, गुजुल्टाहरू छन् भने औषधि राखेर त्यसलाई सुकाइदिने अनि नशालाई बन्द गरिदिने गरिन्छ।
न्यूरो इन्टरभेन्सन सर्भिसकै माध्यमबाट ब्रेनमा रहेको ट्युमरलाई समेत सुकाउन सकिन्छ। यस्तो गर्दा बिरामीको ज्यानलाई हानि नहुने गरी अपरेसन गर्न समेत सहज हुन्छ।
त्यस्तै, नशा गुजुल्टो भएर बस्ने, छारे रोग आउने लगायतका समस्याको पनि यही पद्धतिबाट उपचार गर्न सकिन्छ।
सबभन्दा धेरै हुने भनेको स्ट्रोक अर्थात पक्षघात हो।
कुनै पनि बिरामीको अचानक एक पाटो नचल्ने देखियो भने तुरून्तै उपचार गर्न लैजानुपर्छ। यस्तो बेला जमेको रगतलाई पगाल्न औषधि राखिन्छ।
त्यसले २४ घण्टासम्म पनि काम गरेन भने तार छिराएर रगतमा जमेको क्लडलाई तानिन्छ।
पक्षघात, ब्रेन ह्यामरेज भयो त्यसमा रगतको नशाहरू गुजुल्टो पर्ने हुन्छ। जसले गर्दा छारे रोग आउने, दिमाग नबन्ने हुन्छ। कतिलाई यो समस्या जन्मजात हुन सक्छ। त्यसलाई सुकाइयो भने मस्तिष्क विकासमा सहयोग पुग्छ।
टाउकोमा ठूलो ट्युमर छ भने अपरेसनभन्दा पहिला रगतको नशा बन्द गरिदिएर अपरेसनलाई सहज पार्न सकिन्छ।
कहिलेकाहीँ आँखामा जाने नशामा ठूलो नशा जोडिन्छ। कुनै दुर्घटना वा चोटले जोडियो भने आँखा फुलेर ठूलो हुन्छ। त्यस्तो बेलामा त्यो नशालाई बन्द गरिदियो भने आँखा फेरि आफ्नो ठाउँमा आएर ठिक हुन्छ।
धेरै रगत जमेको छ भने टाउको खोलेर त्यसलाई निकाल्न पर्छ।
यो प्रविधिमार्फत उपचार गर्दा टाउको नखोलिकन तारको प्रविधिबाट फुलेको नशालाई बन्द गर्न सकिन्छ।
संघीय अस्पतालमध्ये भरतपुरमा यसको पहिलो सुरूआत भएको छ। भरतपुर देशकै बीच भागमा पर्ने र सबै तिरबाट आउन/ जान सहज हुने भएकाले आम मानिसलाई यसले धेरै सहयोग पुग्छ भन्ने हाम्रो विश्वास छ।
यो प्रविधिले भरतपुर अस्पतालको स्तर नै बढेको छ भन्दा फरक नपर्ला किनकि यसले गर्दा काठमाडौं जानुपर्ने बाध्यता हटेको छ।
ब्रेन ह्यामरेज भएको बिरामीको ६ घण्टाभित्र अपरेसन गर्न सक्यौं भने मात्र पहिलाको ठाउँमा ल्याउन सकिन्छ। जति ढिलो गर्यो बिरामीलाई त्यति कठिन र समय लाग्छ।
ब्रेन ह्यामरेज भएको बेला शरीरको सन्तुलनमा समस्या आउँछ।
आँखा एकछिन नदेख्ने, कहिले एउटाले मात्र देख्ने हुन सक्छ।
अनुहारमा र्याल चुहिने, अनुहारको एउटा भाग बांगो हुने लगायत हुन्छ। त्यस्तै पाखुराको एक पाटा नचल्न सक्छ। बोली नफुट्ने हुन सक्छ। यस्ता लक्षण देखिएमा समयमै अस्पताल ल्याउनुपर्छ भन्ने हो।
भरतपुरमा न्यूरो इन्टरभेन्सन सेवा भएसँगै बिरामीलाई धेरै सहज हुन्छ। यो देशको केन्द्रमा रहेकाले धेरै ठाउँबाट बिरामीलाई २/३ घण्टामा ल्याउन सकिन्छ। यो सेवाले गर्दा बिरामीलाई धेरै सहज हुने हाम्रो अपेक्षा छ।
(इन्टरभेन्सन रेडियोलोजिस्ट डा. प्रदेश घिमिरे भरतपुर अस्पतालमा कार्यरत छन्।)