बाँके प्रहरीले १९ दिनको अवधिमा ३७ लाख बराबरको भन्सार छलीको सामग्री जफत गरेको छ।
पछिल्लो समय भन्सार कार्यालयका साथै ठूला पसल तथा गोदाममा पनि प्रहरीले छापा हानेर सामान जफत गरिरहेको हो।
नेपालगञ्ज उपमहानगरपालिका – १ गुलरिया बसपार्क नजिकको मुबारक अहमद कडरियाको पसलबाट बिहीबार एक हजार एक सय ३० बोराको ३३ हजार नौ सय किलोग्राम मटरको दाल बरामद गरी जफत गरेको हो।
जिल्लाका निमित्त प्रवक्ता रमेश विष्टका अनुसार हालको प्रचलित बजार मूल्य अनुसार बरामद गरिएको दाल २० लाख ३४ हजार मूल्य बराबरको रहेको छ।
बरामद दालसहित मुस्कान ट्रेडर्सका संचालक कडरियालाई प्रहरीले पक्राउपछि आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाएको प्रहरी निरीक्षक बिष्टले बताए।
मंसिर १७ गते मात्रै बाँके प्रहरीले विभिन्न स्थानबाट भन्सार छली ल्याएको च्याउ, चिनी र चामल गरी एक लाख ७० हजार पाँच सय मूल्य बराबरको सामग्री जफत गरेको थियो।
मंसिर १४ गते नेपालगंज–१३ बुलबुलियाका कजिम कबडियालाई भन्सार छली ल्याएको २७ हजार बराबरको त्रिपाल लगाएतका सामग्री बरामद गरेको थियो।
त्यस्तै, मंसिर १३ गते नेपालगंजको विभिन्न स्थानबाट भन्सार छली ल्याएको काँचो कपडा, विभिन्न मोटर पार्ट्स, चिनी, खाद्यान्न र पिय पदार्थ माउन्टेन ड्यूसमेत गरी ६ लाख ७७ हजार पाँच सय मूल्य बराबरको सामग्री जफत गरेको थियो।
मंसिर ११ गते नेपालगंज – १८ भुजइगाउँको रामबिलाश वर्णवालले संचालन गरेको आकाश राइस मिल तथा फ्लोरमा प्रहरीले छापा हानेको थियो।
उक्त मिलबाट भन्सार छली गरी ल्याइएको अवस्थामा चामल, दाल र तेल गरी एक लाख २६ हजार तीन सय मूल्य बराबरका ती सामग्री जफत गरेको थियो।
त्यस्तै, मंसिर ६ गते नेपालगंजका विभिन्न स्थानबाट भन्सार छली ल्याएको अवस्थामा वासिङ मेसिन, कुलर लगायतका सामग्री अन्दाजी मूल्य ४८ हजार बराबरका सामग्री बरामद गरेको थियो। मंसिर ३ गते भन्सार छली ल्याएको सुपरवाला सुर्ती, लेडिज कुर्ता सुरूवाल, जेन्स पर्स, बेल्ट, चामल, दाल, केराउ, डिजिटल तराजु, सिलाउने मेसिन लगाए गरी झन्डै चार लाख ७४ हजार बराबरका सामग्री बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले बताएका थिए।
सोही दिन नै प्रहरीले नेपालगंज – १ धम्बोझीबाट भारतबाट अवैध रूपमा ल्याइएको २४ किलोग्राम माछा जफतपछि आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन नेपालगंजमा पठाएको थियो। मंसिर १ गते बाँके प्रहरीले विभिन्न स्थानबाट जुत्ता, सुर्ती, तरकारी,भेली लगायत विभिन्न एक लाख ३८ हजार बढीका सामग्री जफत गरेको थियो।
बरामद गरिएको सबै ती सामग्री आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाउँदै आइएको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए।