दाङको लमहीस्थित एक सुन पसलमा गोली चलेको छ।
लमही नगरपालिका –५ स्थित जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले शनिबार दिउँसो एक जनाले गोली चलाएका थिए।
गोली लागेर उक्त पसलमा काम गर्ने कालिगढ अन्दाजी १८ वर्षीय दीपक सुनार घाइते रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक रोषणराज पाण्डेले जानकारी दिए।
गोली प्रहार गर्ने ब्यक्ति फरार रहेको र उनको खोजी भइरहेको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए।
घटनापछि जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठ पनि लमही पुगेका छन्।
एसपी श्रेष्ठले घाइते सुनार सुन पसल संचालकको सालो रहेको बताए। उनको अवस्था सामान्य रहेको एसपी श्रेष्ठले जानकारी दिए।
सुन लुट्ने उदेश्यले गोली प्रहार गरिए पनि गोली हान्ने ब्यक्तिले सुन भने लुटेर लैजान नपाएको एसपी श्रेष्ठले बताए। घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको उनको भनाइ छ।