बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको के.एच.डी.सी कार्यक्रमले एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, जेनेभा युनिभर्सिटी हस्पिटल र के.एच.डि.सि. नेपालको सहकार्यमा प्राथमिक तहमा नसर्ने रोग व्यवस्थापन सम्बन्धी एकदिने कार्यशाला गरेको छ।
प्राथमिक तहका स्वास्थ्यकर्मीहरूलाई लक्षित गरी विकास गरिएको नसर्ने रोग व्यवस्थापन सम्बन्धी पुस्तिका तथा सामग्रीमा परामर्श तथा सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो।
कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, कोशी प्रदेशका स्वास्थ्य अधिकारीहरू सम्बन्धित पालिकाका सरोकारवाला, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि, डब्लुएचओ प्रतिनिधि तथा सम्बन्धित विषय विज्ञहरूको उपस्थिति थियो।
त्यस्तै इस्केमिक हृदय रोग, हृदय विफलता तथा दीर्घकालीन मिर्गौला रोग व्यवस्थापन सम्बन्धी तालिम तथा सामग्रीको प्राथमिक तहमा आवश्यकताबारे छलफल भएको थियो।
संकलित सुझावका आधारमा उक्त पुस्तिका तथा सामग्रीलाईअध्यावधिक र परिमार्जन गरी प्राथमिक तहका स्वास्थ्यकर्मीहरूका लागि थप उपयोगी र व्यावहारिक बनाइने आयोजकले जनाएको छ।
नेपालमा उपलब्ध तथ्यांक अनुसार दुई–तिहाइभन्दा बढी मृत्यु नसर्ने रोगकै कारण हुने पाइएको छ।
के.एच.डी.सी कार्यक्रम प्रा. डा. संजीब कुमार शर्माको नेतृत्वमा सन् २००३ देखि सञ्चालित समुदाय केन्द्रित कार्यक्रम हो।
अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा कार्यक्रमले १४,१४६ जना उच्च जोखिममा रहेका व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरेको थियो।