धादिङमा सात वटा सवारी साधन एकै ठाउँमा आपसमा ठोक्किएर दुर्घटना भएको छ।
पृथ्वी राजमार्गस्थित धुनीवेशी नगरपालिका- ६ चालिसेमा चार वटा बस, दुइटा ट्रक र एउटा मोटरसाइकल एकै ठाउँमा ठोक्किएर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी प्रकाश दाहालका अनुसार दुर्घटना अपराह्न सवा ४ बजेतिरै भएको थियो।
त्यतिबेला काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको एउटा डिब्बा कन्टेनरले सुरूमा बागमती प्रदेश ००१ क ००११ नम्बरको स्कुल बसलाई ठक्कर दिएको थियो।
'उक्त डिब्बा कन्टेनरको ब्रेक फेल भएको र त्यसपछि त्यसले सोही दिशातर्फ जाँदै गरेको र विपरीत दिशाबाट आउँदै गरेको सवारी साधनलाई पनि ठक्कर दिएको रहेछ,' डिएसपी दाहालले भने।
दुर्घटनापछि सडकमा सवारी साधनको थुप्रो लागेको छ।
अरू सवारी साधनको विवरण खुल्ने क्रममै रहेको उनले बताएका छन्।
त्यहाँ अझै उद्धारको काम चलिरहेको डिएसपी दाहालले जानकारी दिए।
अहिलेसम्म २७ जना घाइतेलाई उद्धार गरेर विभिन्न अस्पताल पठाइएको छ। तीमध्ये २ जनाको अवस्था गम्भीर छ। गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको पनि डिएसपी दाहालले जानकारी दिए।
दुर्घटना भएको ठाउँमै सवारी साधनहरू रहेकाले राजमार्ग दुईतर्फी नै अवरूद्ध रहेको डिएसपी हमालले जानकारी दिए।