पृथ्वी राजमार्गस्थित धादिङको धुनीवेशी नगरपालिका-६ चालिसेमा ठोक्किएका सात वटै सवारी साधनको विवरण खुलेको छ।
शनिबार अपराह्न सवा ४ बजे मूल सडकमा सात वटा सवारी साधन आपसमा ठोक्किएर एक थुप्रो भएका हुन्।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी प्रकाश दाहालका अनुसार काठमाडौंबाट जाँदै गरेको एनएल ०१ एबी ४६५४ नम्बरको डिब्बा कन्टेनरको ब्रेक फेल भएपछि त्यसले अरू सवारी साधनलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गजुरीतर्फ जाँदै गरेको बा.प्र.००१ क ००११ नम्बरको स्कुल बस, विपरीत दिशाबाट आउँदै गरेको ग १ ख ८५५१ नम्बरको बस, काठमाडौंबाट गजुरीतर्फ जादै गरेको ना ४ ख ७१५ नं.को ट्रक, सोही दिशातर्फ जादै गरेको लु ९५ प ३०७ नम्बरको मोटरसाइकल, सोही दिशातर्फ जाँदै गरेको जिजे ०३ एके ३२३१ नम्बरको बस,बिपरित दिशाबाट जाँदै गरेको बा १ प ९१७ नम्बरको पर्यटकीय बस एकै ठाउँमा ठोक्किएको हो।
यसरी एउटा डिब्बा कन्टेनर, एउटा ट्रक, चारवटा बस र एउटा मोटरसाइकल दुर्घटनामा परेका छन्।
त्यतिबेला काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको एउटा डिब्बा कन्टेनरले सुरूमा बागमती प्रदेश ००१ क ००११ नम्बरको स्कुल बसलाई ठक्कर दिएको थियो।
'उक्त डिब्बा कन्टेनरको ब्रेक फेल भएको र त्यसपछि त्यसले सोही दिशातर्फ जाँदै गरेको र विपरीत दिशाबाट आउँदै गरेको सवारी साधनलाई पनि ठक्कर दिएको रहेछ,' डिएसपी दाहालले भने।
दुर्घटनामा परी हालसम्म २७ जनाको घाइते भएको खुलेको उनले बताएका छन्। उनीहरूलाई उद्धार गरेर विभिन्न अस्पताल पठाइएको छ।
तीमध्ये गम्भीर घाइते भएका २ जनालाई भने काठमाडौं पठाइएको छ।
उनीहरूको विवरण संकलनकै क्रममा छ।
दुर्घटना भएको ठाउँमै सवारी साधनहरू रहेकाले राजमार्ग दुईतर्फी नै अवरूद्ध रहेको डिएसपी हमालले जानकारी दिए।