दाङमा लक्षित समुदायका पाँच हजार जनामा सिकलसेल एनिमीया रोगको परीक्षण गरिने भएको छ ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले मंसिरदेखि बैशाख महिनासम्म जिल्लामा परीक्षण अभियान चलाउन थालेको हो । प्रतिष्ठानमा सिकलसेल जाच्ने मेसिन भित्रिए संगै पहिलो पटक हाल सम्मकै ठूलो परिमान अर्थात पाँच हजार जनामा त्यस्तो परीक्षण गर्न लगिएको हो ।
प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालका अनुसार रोग परीक्षण अभियान शनिबारदेखि नै सुरू गरिएको छ।
प्रतिष्ठानले हाल करिब सिकलसेल एनिमियाका तीन सय १५ जनालाई औषधि उपचार सेवा प्रदान गर्दै आएको छ। जसमा १ वर्षदेखि ६५ वर्ष उमेर सम्मकामा बिरामी छन्।
एकै घर परिवारका चार जनासम्म यो रोगबाट ग्रसित बिरामी फेला परेको तथ्याङ्क छ।
सिकलसेल एनिमिया एउटा वंशाणुगत रोग हो।
सिकलसेल एनिमिया परीक्षणका लागि बिरामीलाई यसअघि जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो। मेसिन भित्रिएसँगै अब प्रतिष्ठानमै चेकजाँच संभव हुने भएको हो।
प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थीले सिकलसेल एनिमिया भए नभएको जाँच गर्न पाँच हजार जना (बालबच्चादेखि वृद्धसम्म सबै) को चेक गरेर हालको अवस्थाबारे नमूना संकलन गरिने बताए।
प्रतिष्ठानको मेडिसिन ओपिडीमा यो सेवा आइतबारदेखि उपलब्ध हुने फिजिसियन डा. अजयराज गौतमले बताए।
यदि कुनै बिरामीमा सिकलसेल एनिमिया पाइएमा एक लाख रूपैयाँसम्मको निःशुल्क औषधि उपचार गरिने उनले बताए।
लक्षित समुदायमा यसको प्रभाव बढी हुन सक्ने भएकाले त्यस्ता समुदायमा परीक्षण, रोकथाम एवं उपचारात्मक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन जरूरी रहेको डा. गौतमको बताए।
बिरामी व्यक्तिका रक्तकोषको आकार हँसिया जस्तो हुने भएको हुँदा त्यसको नाम सिकलसेल एनिमिया भन्ने गरिएको उनले बताए।
‘जब कोषको आकार परिवर्तन भएर बाङ्गो हुन्छ, त्यसले रक्त सञ्चारमा अवरोध ल्याउँछ,’ डा. गौतमले भने, ‘यसका कारण रगत नपुगेर कतिपय अंगको मृत्यु हुने सम्मको खतरा हुन्छ।’
यो रोगको उपचार लक्षण अनुसार हुने उनले बताए। यो रोग पूर्ण रूपमा निको भने कहिल्यै हुँदैन।