शनिबार दिउँसो साढे १ बजेतिर दाङको लमही नगरपालिका–५ स्थित ‘जुनतारा सुनचाँदी पसल’मा गोली चल्यो।
गोली लागेर पसलका कालीगढ १८ वर्षीय दीपक सुनार घाइते भए। ग्राहक बनेर आएका बन्दुकधारीले पसलमा गोली चलाएका थिए।
दीपकले काउन्टरबाट सुन झिक्दै गर्दा ती व्यक्तिले बन्दुक देखाएर भएभरका सुन आफूलाई दिन भनेर धम्क्याएका थिए।
उनको कुरा नमाने पछि ती ब्यक्तिले काउन्टर बाहिरैबाट गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठले जानकारी दिए।
काउन्टर बाहिरबाट चलेको गोलीले दीपकको चिउँडोको छाला छेँडिएको छ। घटनाबाट उनी बालबाल बाँचे।
लमही अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ।
एसपी श्रेष्ठ घटनालगत्तै लमही पुगेका थिए।
उनका अनुसार दीपक प्यूठानका हुन्। उनी सुन पसल सञ्चालकका सालो पर्छन्।
सुन लुट्ने उदेश्यले गोली प्रहार गरिए पनि गोली हान्ने ब्यक्तिले सुन भने लुटेर लैजान नपाएको एसपी श्रेष्ठले बताएका छन्।
शनिबार लमहीका अधिकांश पसल बन्द हुन्छन्। गोली चलेको जुनतारा सुनचाँदी पसल पनि बन्दै नै थियो।
एक व्यक्तिले दीपकलाई फोन गरेर आफूलाई धेरै नै गहना चाहिएको भनेर पसल खोल्न आग्रह गरेका थिए।
मूल्य आकासिएर बजार घटेका बेला गहना धेरै आवश्यक परेको छ भनेर फोन आएपछि दीपक दिउँसो १:३५ बजे पसल खोल्न पुगेका थिए।
सटर खोलेर काउन्टरमा बस्नासाथ ती व्यक्तिले सबै गहना झोलामा हालेर आफूलाई दिन भनेर धम्क्याए। नदिए मारिदिने धम्की दिएका थिए।
दीपकले धम्कीको बेवास्ता गरे।
त्यसपछि ग्राहक बनेर आएका ती व्यक्तिले गोली चलाएको प्रहरीले जनाएको छ। गोलीले काउन्टरको सिसा प्वाल पारेको छ। सिसाकै कारण सिधै गोली लाग्न पाएन र दीपकको ज्यान जोगिएको प्रहरी बताउँछ।
तर, त्यो स्वचालित हतियार थियो वा कटुवा पेस्तोल मात्रै थियो भन्ने कुरा थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
गोली प्रहारको घटना पछि पक्राउ परिने डरले ती युवक भागेका थिए। उनी अझै फरार छन्।
गोलीकाण्डपछि आइतबार लमहीका सुनचाँदी व्यवसायीहरूले पसल खोलेका छैनन्।
उनीहरूले सुरक्षाको माग गर्दै पसल बन्द गरेका हुन्।
तुलसीपुरको बिजय सुन चाँदी पसलका संचालक तथा सुन चाँदी ब्यबसायी महासंघका केन्द्रीय लोकबहादुर स्वर्णकारले असुरक्षाका कारण जिल्लाका सम्पूर्ण सुन चाँदी पसलहरु बन्द गर्ने निर्णय भएको बताए।