दाङमा ट्रकको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक युवकको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
मोटरसाइकलको पछाडि सवार सल्यानको कालीमाटी गाउँपालिका–३ का २३ वर्षीय भिषन पुन मगरको उपचारका क्रममा मृत्यु भएको छ।
टाउको र शरीरको विभिन्न भागमा चोट खेपेका मगरको दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याई चेकजाँच गर्ने क्रममा चिकित्सकले राति साढे आठ बजेतिर मृत घोषणा गरेको थिए।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीका अनुसार मोटरसाइकल चालक दाङको बबई गाउँपालिका–३ का २९ वर्षीय गणेश वली घाइते छन्। उनको बायाँ खुट्टा फ्याक्चर हुनुका साथै बायाँ हातमा चोट छ। वलीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज रिफर गरिएको थियो। वलीलाई त्यहाँबाट पनि भारतको लखनउस्थित आशीर्वाद सिटी हस्पिटलमा लगेर उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए।
यो दुर्घटनामा शनिबार साँझ आठ बजेतिर दंगीशरण गाउँपालिका – ६ श्रीगाउँमा भएको थियो।
तुलसीपुर–सुर्खेत सडकखण्ड अन्तर्गत तुलसीपुरबाट हंसपुरतर्फ जाँदै गरेको रा ७ प ५६७८ नम्बरको मोटरसाइकललाई जाजरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ६ ख २६३५ नम्बरको ट्रकले ठक्कर दिएको थियो।
चालक तुलसीपुर उपमहानगरपालिका– १२ टरिगैका २९ वर्षीय साजन आचार्यसहित ट्रक प्रहरी नियन्त्रणमा छन्।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।