दसैं भर्खरै सकिएको थियो। मोरङको लेटाङ नगरपालिका–२ फडानीका नबिन गौतमकी १२ वर्षीया छोरी अंशु गौतम त्यसदिन साथी युरिका महतारासँग स्कुल नजिकैको चौरमा खेलिरहेकी थिइन्।
त्यहीबेला उनीहरूलाई छिमेकी पदम अधिकारीले बोलाउँछन्। उनलाई देखेपछि अंशुसँग खेलिरहेकी साथी युरिकाले पदमसँग पैसा माग्छिन्।
उनले पाँच रुपैयाँ दिएर युरिकालाई दिदीलाई लिएर जंगलको मुखमा आउन भनेर अह्राउँछन्। युरिका त्यहाँबाट हिँडेपछि पदमले अंशुलाई आफूसँगै घाँस काट्न जान प्रस्ताव गर्छन्।
५९ वर्षका पदमले अंशुलाई आफूलाई घाँस काट्न सहयोग गर्न प्रस्ताव गरे। पिता समान छिमेकीले गरेको प्रस्ताव नाबालिग अंशुले टार्न सकिनन्। उनले अंशुलाई पैदल नै जंगलको मुखसम्म आउन भनेर आफू साइकलमा त्यता लागेका थिए।
जंगलको मुखमा पर्खिरहेका पदमले अंशु आइपुगेपछि साइकलको पछाडि राखेर झण्डै ४ किलोमिटर भित्र जंगलमा पुर्याउँछन्। लगत्तै बलात्कारपछि घाँटीमा थिचेर हत्या गर्छन्। अनि हँसियाले घाँटी समेत काटेर शवको व्यवस्थापन वीभत्स रूपमा गर्छन्।
आइतबार बिहान विराटनगरस्थित जिल्ला प्रहरी कार्यालय मोरङमा प्रहरीले यी विवरण सार्वजनिक गरिरहँदा अभियुक्त पदमलाई पनि प्रहरीले उपस्थित गराएको थियो। त्यति पाका व्यक्तिले छिमेकी नाबालिगको यसरी हत्या गर्ने कारण यौन चाहना र पारिवारिक रिसिइबी भएको प्रहरीको भनाइ छ।
‘यौन उद्देश्य, पारिवारिक विवाद र बदला भावनाले यो अपराध गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले भने, ‘अनुसन्धानका क्रममा घटनामा उनको संलग्नता खुलेपछि उनलाई पक्राउ गरिएको छ।’
प्रहरीले मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ज्यान सम्बन्धी कसुर र जबरजस्ती करणी सम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी गरेको छ।
लेटाङ नगरपालिका–२ फडानीका नबिन गौतमकी १२ वर्षीया छोरी अंशुको हत्या प्रकरणमा मोरङ प्रहरीले संलग्नलाई पक्राउ गरी घटनाको विस्तृत विवरण आइतबार सार्वजनिक गर्ने क्रममा यो जानकारी दिएको हो।
स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत अंशु गएको असोज २१ गते दिउँसोबाट बेपत्ता थिइन्।
छोरी बेपत्ता बनेपछि दिनभरि खोजी गरेको परिवारले उनीबारे केही सुराक नपाएपछि भोलिपल्ट असोज २२ मा खोजीका लागि प्रहरी गुहारेको थियो।
एक्कासि हराएकी बालिका कतै फेला नपरेपछि उनको खोजीका लागि असोज २५ मा आफन्त, स्थानीय बासिन्दा, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले जंगल क्षेत्रमा सर्च अपरेसन नै सञ्चालन गरेको थियो। त्यो अभियानले पनि उनी फेला सकेकी थिइनन्।
जतिबेला गाउँमा अंशुको खोजी हुँदैथियो, अभियुक्त पदम स्वयम् उनको खोजी अभियानमा सक्रिय थिए। त्यसबेलासम्म उनीविरूद्ध कसैले शंका गरेका थिएनन्। प्रहरीका अनुसार गाउँलेहरूसँग बालिकाको खोजी कार्यमा उनी बढ्ता नै सक्रिय देखिन्थे।
उनको हत्या भएको जंगल स्थानीयबासी घाँस दाउराका लागि पुगिरहने क्षेत्र हो। त्यही क्रममा कात्तिक ७ मा लेटाङ–२ स्थित बेलबारी चिसाङ साझेदारी वनभित्र सडिसकेको अवस्थामा एउटा शव फेला पर्यो।
घाँस काट्न जंगल गएका गाउँलेले शरीरका अंगहरू टुक्राटुक्रा भएको अवस्थामा फेला पारेका थिए। गाउँलेको सूचनापछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
घटनास्थलमा फेला परेको चप्पल, कालो हाफ पाइन्ट र घडी देखेपछि बुवा नबिन गौतमले आफ्नी छोरी हो भन्ने यकिन गरेका थिए। त्यसपछि शवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि पठाइएको थियो।
डिएनए परीक्षणका लागि मृत बालिकाका बाबुआमाबाट नमूना संकलन गरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ। रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले ५ सदस्यीय विशेष अनुसन्धान समिति गठन गरी ‘अपरेसन ज्याग’ नाम दिएर केन्द्रीय अनुसन्धान ब्यूरो र प्रदेश प्रहरीसहित संयुक्त छानबिन थालेको थियो। अंशुको शव फेला परेको ६ दिन पछि भने पदमबहादुर अधिकारी भारत गए। उनी भारत गएपनि प्रहरीले अनुसन्धान निरन्तर अघि बढायो।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार प्रहरीले घरपरिवार, छिमेक, विद्यालय र जंगल क्षेत्रमा आवतजावत गर्ने व्यक्तिहरूसँग सोधपुछ गर्दै ३०० भन्दा बढी मानिससँग बयान लिएको र ५४ जनाको लिखित जाहेरी संकलन गरेको थियो। तर अनुसन्धानकै क्रममा पदमबहादुर अधिकारी गाउँमा नरहेको तथ्य प्रहरीले पत्ता लगायो। यसपछि भने अनुसन्धानको सुई उनीमाथि तेर्सिएको थियो।
सिसिटिभी फुटेज, फरेन्सिक प्रमाण र स्थल पुनर्निर्माणका आधारमा अनुसन्धान अघि बढाइँदा लेटाङ–२ फडानीका ५९ वर्षीय पदमबहादुर अधिकारीलाई भारतको असमबाट नियन्त्रणमा लिइएको हो।
उनलाई मंसिर १९ गते आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले बताएको छ।
अंशुको शव कम्मरभन्दा तल र टाउको मात्र रहेको अवस्थामा फेला परेको थियो।