काठमाडौंको ठमेलमा इसराइली नागरिक माथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
मंसिर १५ गते काठमाडौं-१६ कालधारास्थित योग होस्टल बस्ने २५ वर्षीय इसराइली नागरिक अर्मोजा अल्मोगमाथि कुटपिट भएको थियो। उनलाई लछारपछार गरी कुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
काभ्रेको तेमाल घर भई स्वयम्भू बस्ने २६ वर्षीय पेम्बा तामाङ र नुवाकोट ताँदी घर भई स्वयम्भू बस्ने ३० वर्षीय श्याम तामाङ पक्राउ परेका छन्।
उनीहरूलाई प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएको टोलीले आइतबार ठमेलबाट पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।