तिब्बतियन ओरिजिनल ब्लड (टिओबी)का तेन्जीन दावा लामालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले दुई वटै कसुरमा धरौटीमा छाड्न आदेश दिएको हो।
उनीविरूद्ध लिखत सम्बन्धी कसुर र लागुऔषधको कसुरमा मुद्दा दर्ता भएको थियो।
अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार लिखत सम्बन्धी कसुरमा उनीसँग पाँच लाख रुपैयाँ धरौटी माग भएको छ।
त्यस्तै लागुऔषध सम्बन्धी कसुरमा भने २० हजार रुपैयाँ माग भएको थियो।
जेनजी आन्दोलनपछि एउटा भिडिओ बाहिरिएपछि तेन्जीनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
सुरूमा अभद्र व्यवहारको कसुरमा अनुसन्धान गरेको प्रहरीले उनको नागरिकतामाथि समेत अनुसन्धान गरेको थियो। तर उनको नागरिकतामै कैफियत देखिएपछि थप अनुसन्धान गरी नागरिकता सम्बन्धी कसुरमा समेत अनुसन्धान अघि बढाएको थियो। अनुसन्धान सकेर प्रहरीले केही दिन अघि मुद्दा सरकारी वकिलको कार्यालयमा बुझाएको थियो।
सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा अदालतमा दर्ता गरेको थियो। उक्त मुद्दाको थुनछेकपछि धरौटी आदेश भएको हो।