घाँटीको क्यान्सर हुने मुख्य तीन कारण छन्।
एउटा प्रदूषणदेखि खानपिनको अम्मलले हुन्छ। धेरैजसो हुने भनेको अम्मलकै कारणले हो। जाँड, रक्सी, सुर्ती, चुरोटले गर्दा मुखको, घाँटीको क्यान्सर हुने खतरा हुन्छ। कतिलाई विकिरण दिएको रहेछ भने पनि उसलाई पछि गएर क्यान्सर हुन सक्छ।
दोस्रो वंशाणुगत कारणले हुन्छ। जसमा परिवारका कोही सदस्यलाई भएको छ भने पछिल्लो पुस्तालाई पनि जाने हुन्छ। विशेष गरेर थाइरोइडका कतिपय क्यान्सरहरू वंशाणुगत रूपमै देखिन्छ।
अर्को आफ्नै शरीरको बनावटले पनि हुने हुन्छ।
कस्ता हुन्छन् लक्षण?
बिरामीले सुरूमा थाहा पाउने भनेको शरीरमा कतै सुन्निएको हुन्छ। घाँटीमा गिर्खा देखिनु यसको पहिलो लक्षण हो। अनि खाना निल्न गाह्रो हुन्छ।घाँटीमा कुनै रोग आएको छ भने निल्न गाह्रो हुनु स्वभाविक हो। बिरामीलाई घाँटी दुख्ने समस्या हुन सक्छ अनि कहिलेकाहीँ गिर्खो फुटेर तरल पदार्थ निस्किन पनि सक्छ।
विशेष गरेर बिरामी आउँदा घाँटीमा डल्लो पलायो, सुन्नियो भनेका हुन्छन्। कतिले खाना खान निल्न अप्ठ्यारो भयो भनेका हुन्छन्।
घाँटीमा सुरूमा देखिने भनेको थाइरोइड हो अनि त्यो बिग्रिँदै गएर क्यान्सर हुन सक्छ।
उपचार के हो?
क्यान्सरको प्रकृति अनुसार यसको उपचार हुन्छ। घाँटीमा हुने धेरै खालका क्यान्सरको पहिलो उपचार शल्यक्रिया हो। नाकको फेदको क्यान्सर जसले गर्दा घाँटीमा डल्ला हुन्छ। त्यसको उपचार रेडियसनबाट गरिन्छ।
शल्यक्रिया गरेर रोगलाई पूरै निकालेर फाल्ने त्यसपछि रोगको प्रकृति र बायस्पी रिपोर्ट हेरेर थप उपचार गरिन्छ। समग्रमा भन्ने हो भने क्यान्सरमा धेरै प्रयोग गरिने उपचार विधि शल्यक्रिया रेडियसन अनि किमोथेरापी हो।
यद्यपि अहिले इम्युनो थेरापी र थार्गेट थेरापी पनि गरिन्छ।
कति छन् यसका बिरामी?
पहिलो कुरा त अहिले परीक्षण बढेको छ। हामीसँग स्रोत साधन र जनशक्ति पनि राम्रो हुँदै गएको छ। जसले गर्दा परीक्षण गरेर क्यान्सर पत्ता लाग्ने क्रम बढेको छ।
म कार्यरत बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कुरा गर्ने हो भने हाम्रो विभागमा दैनिक औषत सय जना बिरामी हेर्छौं। त्योमध्ये ५०/६० प्रतिशत घाँटीको क्यान्सरकै बिरामी हुन्छन्। यो रोग युवादेखि सबै उमेर समूहकालाई देखिन्छ। १० वर्षभन्दा सानो उमेरकालाई पनि यो समस्या देखिएको छ। जति सानो उमेरमा देखियो क्यान्सर त्यति नै आक्रामक पनि हुन्छ।
कसरी बच्ने?
घाँटीको क्यान्सरबाट बच्ने उपाय भनेको खानपिनमा ध्यान दिने नै हो। सन्तुलित र स्वस्थ भोजन अनि नियमित व्यायाम भयो भने घाँटीको क्यान्सरबाट धेरै हदसम्म बच्न सकिन्छ। योसँगै जाँड, रक्सी, चुरोट, सुर्ती, बिडी, सुपारी जस्ता खानाबाट टाढै रहनु पर्छ। मान्छेले जे खान्छ जस्तो खान्छ उसको शरीर पनि त्यस्तै बन्ने हो।
त्यस्तै प्रदूषण र विकिरणबाट बच्ने कुरा छँदैछ।
वंशाणुगत रूपमा हुने क्यान्सरको खतरा छ कि छैन भने स्क्रिनिङ गर्न सकिन्छ। तर हाम्रो जस्तो देशमा यो कति सम्भव छ भन्ने हो।
समग्रमा भन्ने हो भने यो क्यान्सर व्यक्ति स्वयमकै कारणले हुने सम्भावना धेरै हुन्छ। त्यसैले हामी स्वयमले यसमा ख्याल गर्न जरूरी छ, त्यो भनेको खानपिन र व्यायाम नै हो।
(वरिष्ठ नाक, कान घाँटी तथा हेड एण्ड नेक क्यान्सर सर्जन डा.विजय न्यौपाने बि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत छन्।)