हङकङको एक अदालतले मिडिया टाइकुन र लोकतन्त्रका अभियानी जिमी लाईलाई सोमबार राष्ट्रिय सुरक्षाको मुद्दामा दोषी ठहर गरेको छ।
चीनको कम्युनिस्ट सरकार र हङकङले ७८ वर्षीय लाईलाई सन् २०१९ मा भएको सरकार विरोधी प्रदर्शनको मुख्य योजनाकारको रूपमा चित्रण गरेका छन्।
चीन र हङकङलाई निशाना बनाउन उनले अमेरिका सहित विदेशी सरकारहरूसँग मिलेमतो गरेको आरोप लगाएका छन्।
लाई विरूद्ध विदेशी शक्तिसँग मिलेमतो गरेको दुई आरोप र १९९५ मा उनले स्थापना गरेको र हाल बन्द भइसकेको चिनियाँ भाषाको दैनिक पत्रिका 'एप्पल' मा देशद्रोही सामग्री प्रकाशित गर्ने षड्यन्त्रको एक आरोप लागेको थियो। उनले ती आरोपमा आफू निर्दोष रहेको जिकिर गरे पनि सोमबार तीन न्यायाधीशको संयुक्त इजलासले उनलाई ती सबै आरोपमा दोषी ठहर गरेको छ।
फैसला सुनाउँदै न्यायाधीश एस्थर तोहले लाईले आफ्नो वयस्क जीवनका धेरै वर्षहरूदेखि चीनप्रति आफ्नो रिस र घृणा पालेका थिए भन्ने कुरामा कुनै शंका छैन भनिन् भनेर समाचार संस्था रोयटर्सले जनाएको छ।
बेलायतले सन् १९९९७ मा हङकङ चीनलाई हस्तान्तरण गर्दा 'एक देश, दुई प्रणाली' को कानूनी ढाँचामा हङकङलाई २०४७ सम्म केही स्वायत्तता र वाक् स्वतन्त्रताको ग्यारेन्टी गर्ने चीनले वाचा गरेको थियो। तर चीनले त्यसका विपरीत नागरिक स्वतन्त्रताको उल्लंघन गर्न थालेको भन्दै २०१४ र २०१९ मा दुई पटक व्यापक प्रदर्शन भएको थियो।
विदेशीसँग मिलेमतो गरेर २०१९ को प्रदर्शनको योजना बनाएको भनेर लाई विरूद्ध राष्ट्रिय सुरक्षाको मुद्दा चलाइएको थियो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)