युक्रेनले पानीमुनि चल्ने समुद्री ड्रोनको पहिलो पटक प्रयोग गरेर ब्ल्याक सीमा रहेको रूसी पनडुब्बीमा प्रहार गरी गम्भीर क्षति पुर्याएको बताएको छ।
युक्रेनको सुरक्षा सेवाले (एसबियु) युक्रेनमै बनेका 'सब सी बेबी' ड्रोनहरूको प्रयोग गरेर नोभोरोस्सियस्क सहर नजिकैको बन्दरगाहमा रहेको ‘किलो क्लास’ पनडुब्बीमा गम्भीर क्षति पुर्याएको दाबी गरेको छ।
एसबियुले एउटा भिडिओ फुटेज जारी गर्दै समुद्री तट नजिकै एउटा शक्तिशाली विस्फोट भएको देखाएको छ। त्यहाँ पनडुब्बी र अन्य जहाजहरू राखिएको देखिन्छ।
बन्दरगाहको संरचना र घाटहरूको रूजु गरेर भिडिओ नोभोरोस्सियस्क बन्दरगाहकै भएको आफूले पुष्टि गरेको भनेर समाचार संस्था रोयटर्सले जनाएको छ।
युक्रेनी आक्रमणका कारण क्राइमियाबाट आफ्ना पानी जहाजहरू हटाउन बाध्य भएको रूसले सो पनडुब्बी पनि नोभोरोस्सियस्कमा सारेको युक्रेनले जनाएको छ।
क्रुज मिसाइल प्रहार गर्न सक्ने सो पनडुब्बी बनाउन रूसको ४० करोड डलर (लगभग ५७ अर्ब रूपैयाँ) भन्दा बढी खर्च लाग्ने युक्रेनले बताएको छ।
पानीमुनि चल्ने ड्रोनले कुनै पनि पनडुब्बीलाई निष्क्रिय पारेको इतिहासमै पहिलो पटक भएको दाबी युक्रेनले गरेको छ। रूसले भने सो दाबीलाई ठाडै अस्वीकार गरेको छ।
रूसी नौसेनाले विज्ञप्ति जारी गर्दै नोभोरोस्सियस्क नौसेना बेसको खाडीमा आफ्ना कुनै पनि जहाज वा पनडुब्बीहरू वा तिनीहरूका चालक दललाई हमलाका कारण कुनै पनि क्षति नभएको बताएको छ। तिनीहरू हाल सामान्य रूपमा ड्यूटीमा रहेको दाबी रूसले गरेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)