प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गर्न पुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मंगलबार साँझ बालुवाटारमा जेनजी र सरकारबीच भएको सम्झौता पत्रलाई छरेर विरोध गरेपछि दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
उनका अनुसार पक्राउ पर्ने प्रकाश शर्मा र अमृतकुमार बोहरा छन्।
‘उहाँहरूले ललिपप र सम्झौता पत्रलाई छर्नुभएको थियो। त्यसपछि प्रहरीले उहाँहरूलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त मालिगाउँ लग्दैछ,’ एसपी भट्टराईले भने।
दुबै जनालाई प्रधानमन्त्री निवासभित्रको सुरक्षा टोलीले नियन्त्रणमा लिएको थियो।
यसै क्रममा उक्त घटनाको फोटो खिच्न पुगेकी देशसञ्चार डट कमकी फोटो पत्रकार वर्षा शाहमाथि प्रहरीले दुर्व्यवहार समेत गरेको छ।
प्रहरीले आफूलाई फोटो समेत डिलिट गर्न भनेको शाहले बताइन्।
‘जेनजी युवाहरूले सांकेतिक प्रदर्शन गर्न लागेको सूचना पाएपछि प्रधानमन्त्रीको बालुवाटारस्थित निवासमा म पुगेँ। उनीहरूले सम्झौता र ललिपप फाल्न लागेका रहेछन्। बालुवाटारको गेटमा फाले। मैले फोटो खिचेँ,’ उनले भनिन्, ‘अनि २ महिला र एउटा सिभिल प्रहरी आए। फोटो डिलिट गर भने। मैले तपाईंहरूले फोटो डिलिट गराउन पाउने अधिकार छैन। म गर्दिनँ भनेँ। त्यसपछि यहाँ फोटो खिच्न पाइँदैन भन्दै घिसार्दै र धकेल्दै बालुवाटारको गेटसम्म ल्याए।’
त्यस्तै आफूलाई प्रहरीले नियन्त्रणमा लिएकोबारे आफ्ना प्रधान सम्पादक युवराज घिमिरेलाई सम्पर्क गर्ने क्रममा फोन समेत खोसेको उनले बताइन्।
‘म प्रधान सम्पादक युवराज घिमिरलाई फोन गर्दै थिएँ। उनीहरूले मोबाइल खोसे। अनि १५-२० मिनेटपछि मोबाइल दियो। अहिले मलाई यत्तिकै जा जा भनेको छ। समातेपछि कारण दिनुपर्यो। लिखित चाहियो। म बालुवाटार बिटमै छु। बालुवाटर भित्रको प्रहरीले समातेको हो तपाईंलाई भन्छन् प्रहरीहरू,’ उनले भनिन्।
एसपी भट्टराईले ‘मिस कम्युनिकेशन’ भएको बताए।
‘पक्राउ गरिएको होइन। मिस कम्युनिकेशन भएको हो। भित्रको सुरक्षाकर्मीले उहाँलाई नचिनेकोले हो। बाहिरको सुरक्षाकर्मीले त उहाँलाई चिनेकै छौं,’ उनले भने।