वन्यजन्तु पीडित किसानलाई ढोरपाटन सिकार आरक्षले पछिल्लो तीन वर्षमा रु ३८ लाख ६२ हजार राहत उपलब्ध गराएको छ ।
सिकार आरक्षले बागलुङ, म्याग्दी र पर्वतका पीडित किसानलाई राहत उपलब्ध गराएको हो । वन्यजन्तुको आक्रमणबाट घर पालुवा घोडा, खच्चड, भेडाबाख्रा र गाईभैँसीलाई मार्ने हुँदा किसानले लाखौँ मूल्य बराबरको नोक्सानी व्यहोर्दै आएका छन् ।
सिकार आरक्षले आर्थिक वर्ष २०७९/८० मा २४ लाख ९२ हजार, २०८०/८१ मा १२ लाख र २०८१/०८२ मा रु एक लाख ७० हजार किसानलाई राहत उपलब्ध गराएको हो । चालु आवमा भने उपलब्ध नगराएको ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीले जानकारी दिए।
'सिकार आरक्ष क्षेत्र आसपासमा किसानहरुले ठूलो सङ्ख्यामा बस्तुभाउ पाल्दै आएका छन्। हरेक वर्ष वन्यजन्तुले वस्तुभाउलाई आक्रमण गरेर घाइते बनाउने, मार्ने हुँदा किसानले क्षति व्यहोर्नु पर्ने हुँदा सिकार आरक्षले थोरै भए पनि राहत उपलब्ध गराउँदै आएको छ,' रेन्जर सुवेदीले भनिन्।
आहारको खोजीमा भौतारिने वन्यजन्तुले बर्सेनि पशुचौपाया खाइदिने र बारीमा लगाएको बाली समेत नष्ट गर्ने गरेका छन्। सिकार आरक्षले बाली क्षतिको राहत भने किसानलाई दिने गरेको छैन । हरेक वर्ष वन्यजन्तुबाट हजारौँको आलु, सिमीलगायतका बाली नष्ट गर्ने गरेको ढोरपाटन नगरपालिका–९ का स्थानीय तमबहादुर सुनारले बताए । बँदेल, बाँदर, चितुवालगायतका वन्यजन्तुले भेडाबाख्रा खाने र बारीमा लगाएको बाली नष्ट गर्ने गरेको उनको भनाइ छ।
निसीखोला गाउँपालिका–५ निसेलढोरका तीर्थबहादुर घर्ती मगरले सिकार आरक्षले बाली क्षतिको पनि राहत उपलब्ध गराउनुपर्ने माग गरेका छन्।