म्याग्नेटिक रेजोनेन्स इमेजिङ (एमआरआई) भनेको चुम्बकीय शक्ति प्रयोग गरेर शरीरभित्रको अवस्थालाई जस्ताको तस्तै तस्बिरमा खिचेर देखाउने उपकरण हो।
कार्डियाक एमआरआईको माध्यमबाट मुटुको काम गर्ने क्षमता अनि मुटुको मांसपेशीको अवस्था थाहा पाउन सकिन्छ।
मुटुका भल्भहरूले राम्रोसँग काम गरेको छ कि छैन अनि मुटुमा रगत जमेको छ कि छैन भनेर समेत पत्ता लगाउन सकिन्छ। अर्थात् एमआरआई मार्फत हरेक सानो कोषिका तथा नसाहरूको अवस्थाबारे थाहा पाउन सकिन्छ।
कार्डियाक एमआरआईबाट मुटुको समस्या थाहा पाउन सहज भएको छ। यसो भन्दैमा जसले जति बेला मन लाग्यो गर्ने भन्ने हुँदैन। यसको लागि मुटु रोग विशेषज्ञले सिफारिस गर्नुपर्छ। इसिजी, इको जस्ता परीक्षण गरिसकेपछि थप परीक्षण गर्न परेमा एमआरआई गरिन्छ।
रक्तनली बन्द भएर समस्या आएको हो कि मुटुको मांसपेशी बढेर समस्या आएको हो कि भनेर थाहा पाउन परेमा एमआरआईको सहायता लिइन्छ।
इसिजी, इकोभन्दा एमआरआई कसरी फरक छ भनेर जिज्ञासा आउन सक्छ।
मुटुको एमआरआई गरिसकेपछि मुटुको कुनै भागले काम गरेको छ कि छैन, कुनै भाग लाटो भएको छ कि भनेर समेत हेरिने भएकाले यो अरू परीक्षणभन्दा फरक छ।
कतिपय अवस्थामा हृदयघात हुँदैछ भनेर समेत थाहा पाउन सकिन्छ।
वंशाणुगत रूपमै मुटुको समस्या हुन सक्ने अवस्थामा भने स्क्रिनिङका लागि समेत एमआरआई गर्ने गरिन्छ।
यो अलि महंगोको परीक्षण भएकाले चिकित्सकको सिफारिसमा मात्र गरिन्छ। एमआरआईमा विकिरण नहुने भएकाले यसको कुनै 'साइड इफेक्ट' भने छैन।
मुटुको परीक्षणको लागि जरूरी खालको प्रविधि भए पनि यसको उपलब्धता निकै कम छ। अनि जनशक्ति पनि थोरै छन्। काठमाडौं, पोखरा लगायतका केही सीमित ठाउँहरूमा मात्र यो उपलब्ध छ।
(वरिष्ठ रेडियोलोजिष्ट प्रा.डा.मनिष किरण श्रेष्ठ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र फेवा थ्रि टेस्ला एमआरआईमा कार्यरत छन्।)