नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपाललाई अनियमितता गरेको आरोपमा नेकपा (बहुमत) निकट अनेरास्ववियू (क्रान्तिकारी) का विद्यार्थी नेताले दुर्व्यवहार गरेका छन्।
आइतबार बिहान ८ बजेतिर ५/६ जनाको संख्यामा पुगेका अखिल (क्रान्तिकारी) का विद्यार्थीले मोसो दल्नुका साथै दुर्व्यवहार गरेका हुन्।
दाङका प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले दुर्व्यवहारमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको बताए।
उपकुलपति नेपालमाथि भएको दुर्व्यवहारपछि जिल्ला प्रहरी प्रमुख एसपी श्रेष्ठ सहित इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी टोली बेलझुण्डीस्थित उपकुलपतिको कार्यकक्षमा पुगेको थियो। अहिले नेपालमाथि दुर्व्यवहार गर्नेहरूको खोजी बेलझुण्डी आसपासमा प्रहरी परिचालन गरिएको छ।
बेलझुण्डी विश्वविद्यालय परिसरमै प्रहरी चौकी छ। तर, मोसो दल्नेहरू उपकुलपतिको क्वाटरमै पुगेर मोसो दलेका थिए।
घटनाको जिम्मा अनेरास्ववियू (क्रान्तिकारी) का लुम्बिनी प्रदेश समिति इञ्चार्ज प्रेमप्रशान्त बोहराले विज्ञप्तिमार्फत लिएका छन्।
विज्ञप्ति उपकुलपति नेपालमाथि विभिन्न ८ बुँदामा दोषारोपन गरिएको छ।
बुँदा नम्बर १ मा विश्वविद्यालयबाट भ्रष्टाचारका अभियोग लागेका रजिष्टार माधव अधिकारीबाट उपकुलपति नेपालले मोटो रकम असुली पुनः रजिष्टारमा सिफारिस गरेको उल्लेख छ।
उपकुलपति नेपालमाथि यसअघि पनि कर्मचारीदेखि प्राध्यापक भर्ती तथा भवन निर्माणमा अनियमितता गरेको अभियोग लागेको थियो।
त्यो विषयमा राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गरेको थियो। जसमा विश्वविद्यालयमा व्यापक अनियमितता भएको निष्कर्ष निकाल्दै थप छानबिन र आवश्यक कारबाहीका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा फाइल पठाइएको थियो।