जिब्रो रगडेर सफा गर्न 'स्क्र्यापर' प्रयोग गर्ने चलन नयाँ होइन। यसको प्रयोग कम्तीमा रोमनकालदेखि हुँदै आएको मानिन्छ।
फ्रान्सका पूर्वसम्राट नेपोलियन बोनापार्टले चाँदीको स्क्र्यापर प्रयोग गर्ने गरेको बताइन्छ।
अमेरिकी राष्ट्रपति जर्ज वासिङटनले पनि जिब्रो सफा गर्ने उपकरण आफूसँगै बोक्ने गरेको उल्लेख पाइन्छ।
अहिले पनि धेरै सेलिब्रिटीहरूले आफ्नो 'वेलनेस रूटिन' मा जिब्रो स्क्र्यापिङलाई समावेश गरेका छन्।
तर प्रश्न उठ्छ— जिब्रो रगडेर सफा गर्नु साँच्चै मुखको स्वास्थ्यका लागि उपयोगी छ कि नियमित रूपमा दाँत माझ्नु र फ्लस गर्नु नै पर्याप्त हुन्छ?
मानिसको मुखमा करिब ७०० प्रजातिका ब्याक्टेरिया पाइन्छन्। त्यसबाहेक फंगस, प्रोटोजोआ र भाइरस पनि हुन्छन्।
यी सबै सुक्ष्म जीव हानिकारक भने हुँदैनन्। स्वस्थ मुखमा विभिन्न सूक्ष्मजीवबीच सन्तुलन हुन्छ। तर मुखको सरसफाइ कमजोर हुनु, धूमपान गर्नु वा अस्वस्थ खानपानले यो सन्तुलन बिगार्न सक्छ।
त्यसपछि ब्याक्टेरियाका समूह बन्न सक्छन्, जसलाई बायोफिल्म भनिन्छ। यिनै बायोफिल्ममा दाँतमा किरा लाग्ने, गिजाको रोग हुने र लामो समयसम्म मुख गन्हाउने समस्या गराउने ब्याक्टेरिया फस्टाउन सक्छन्।
दाँतमा बन्ने बायोफिल्मलाई सामान्यतया 'डेन्टल प्लाक' भनिन्छ।
तर यस्तो समस्या दाँतमा मात्र सीमित हुँदैन।
मुखमा रहेका सुक्ष्म जीवमध्ये करिब दुई तिहाइ जिब्रोमा रहने बताइन्छ। जिब्रोको माथिल्लो सतहमा रहेका स–साना उचाइ र खाल्डाखुल्डीबीच ब्याक्टेरिया जम्मा हुन सक्छन्।
विशेषगरी त्यहाँ अक्सिजन आवश्यक नपर्ने एनारोबिक ब्याक्टेरिया बढ्न सक्छन्। यस्ता ब्याक्टेरियाले दुर्गन्धयुक्त सल्फर यौगिक उत्पादन गर्न सक्ने भएकाले मुख गन्हाउने समस्या हुन सक्छ।
यसै कारण जिब्रोको सतह सेतो वा पहेँलो देखिन पनि सक्छ।
जिब्रो रगडेर सफा गर्दा मुखको दुर्गन्ध घट्छ?
दाँत सफा गर्ने फाइदाका तुलनामा जिब्रो सफा गर्ने फाइदाबारे वैज्ञानिक प्रमाण भने त्यति धेरै नभएको बेलायती पत्रिका दि इकोनोमिस्टले लेखेको छ।
तर केही अध्ययनले यसको सम्भावित फाइदा देखाएका छन्।
सन् २०१८ मा गिजाको रोग भएका ३६ जनामा गरिएको एउटा अध्ययनमा नियमित दाँत सफाइसँगै जिब्रो 'स्क्र्याप' गर्दा मुखबाट आउने दुर्गन्ध (हेलिटोसिस) कम भएको पाइएको थियो।
त्यस्तै, सन् २०१५ मा ४५ बालबालिकामा गरिएको अर्को अध्ययनले दाँतमा किरा लाग्न प्रमुख भूमिका खेल्ने स्ट्रेप्टोकोकस म्युटान्स नामक ब्याक्टेरियाको मात्रा जिब्रो सफा गर्दा उल्लेख्य रूपमा घटेको देखाएको थियो।
तर उक्त अध्ययनले एउटा महत्वपूर्ण कुरा पनि देखाएको थियो।
जिब्रो सफा गर्न विशेष स्क्र्यापर नै चाहिन्छ भन्ने छैन।
सामान्य टूथब्रसले जिब्रो माझ्दा वा नुनपानीले मुख कुल्ला गर्दा पनि स्क्र्यापर प्रयोग गरेजत्तिकै प्रभाव देखिएको थियो।
मुख गन्हाउने समस्या भएका ५६ जनामा सन् २०२१ मा गरिएको अर्को अध्ययनले जिब्रो स्क्र्यापिङ र जिब्रो माझ्ने दुवै विधिले जिब्रोमा जमेको बायोफिल्म हटाएको र दुर्गन्ध पैदा गर्ने सल्फर यौगिक घटाएको देखाएको थियो।
यसैगरी यस वर्ष प्रकाशित अर्को अध्ययनमा पनि मुख गन्हाउने ८० जनामा जिब्रो माझ्दा यस्तै परिणाम देखिएको थियो।
त्यसमा 'स्ट्रेप्टोकोकस सालिभेरियस' नामक ओरल प्रोबायोटिक पनि प्रयोग गरिएको थियो। यसले हानिकारक ब्याक्टेरियालाई विस्थापित गर्न सहयोग गर्ने मानिन्छ।
अर्थात्, जिब्रो सफा गर्न महँगो वा विशेष उपकरण अनिवार्य छैन। नियमित टूथब्रसले पनि जिब्रो सफा गर्न सकिन्छ।
स्वाद थाहा पाउने क्षमता पनि बढ्न सक्छ
जिब्रो सफा गर्नुको अर्को सम्भावित फाइदा स्वादसँग सम्बन्धित छ।
सन् २०२५ मा प्रकाशित चार वटा अध्ययनको समीक्षाले जिब्रोमा जमेको तह हटाउँदा नुनिलो स्वादको अनुभूति तीव्र हुन सक्ने देखाएको थियो। एउटा अध्ययनमा ६० प्रतिशत सहभागीमा यस्तो प्रभाव देखिएको थियो।
यसले जिब्रोको सरसफाइले स्वाद पहिचान गर्ने क्षमतामा समेत केही सुधार ल्याउन सक्ने संकेत गर्छ।
यी अध्ययनका परिणामले जिब्रो स्क्र्यापिङ उपयोगी हुन सक्ने देखाए पनि यसलाई अनिवार्य स्वास्थ्य अभ्यास नै मान्न पर्याप्त प्रमाण भने छैन।
युनिभर्सिटी अफ प्लाइमथकी दन्तचिकित्सा प्राध्यापक जोइ ब्रुक्सका अनुसार अहिलेसम्म भएका अध्ययनहरूमा सहभागीको संख्या निकै कम छ। त्यसैले तिनका आधारमा बलियो निष्कर्ष निकाल्न सावधानी आवश्यक छ।
अर्को चिन्ता पनि छ।
स्वस्थ जिब्रोमा रहेका सबै ब्याक्टेरिया खराब हुँदैनन्। अत्यधिक रूपमा ब्याक्टेरिया हटाउँदा मुखमा रहेको स्वस्थ 'माइक्रोबायोम' को सन्तुलन नै बिग्रिन सक्ने सम्भावना हुन्छ।
त्यसैले जिब्रो सफा गर्न सकिए पनि त्यसलाई दाँत माझ्ने र फ्लस गर्ने विकल्पका रूपमा लिनु हुँदैन।
के गर्ने त?
मुखको स्वास्थ्यका लागि सबैभन्दा प्रभावकारी आधारभूत उपाय अझै पनि उही हुन्— दिनमा दुई पटक दाँत माझ्ने, नियमित फ्लस गर्ने र गुलियो खानेकुरा कम गर्ने।
जिब्रोमा तह जम्ने वा मुख गन्हाउने समस्या छ भने जिब्रो हल्का रूपमा स्क्र्याप गर्न वा नियमित टूथब्रसले सफा गर्न सकिन्छ।
तर धेरै जोड लगाएर जिब्रो घोट्नु आवश्यक छैन।
अहिलेसम्मको प्रमाणले एउटा कुरा भने स्पष्ट संकेत गर्छ।
जिब्रो सफा गर्नु उपयोगी थप अभ्यास हुन सक्छ, तर स्वस्थ मुखका लागि दाँत माझ्ने र फ्लस गर्ने आधारभूत अभ्यासलाई यसले विस्थापित गर्दैन।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)