आफ्नो उम्मेदवारी खारेज गरिएको निर्णयविरुद्ध नेपाल मेडिकल एशोसिएसन (एनएमए) को निर्वाचनका लागि बागमती प्रदेश संयोजक पदका उम्मेदवार डा. अरुण शाहीले निर्वाचन समितिमा निवेदन दर्ता गराएका छन्।
नेपाल चिकित्सक संघ निर्वाचन नियमावली २०७० अनुसार वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराएको र सो उम्मेदवारी प्रारम्भिक उम्मेदवार नामावलीमा स्वीकार भइसकेको भए पनि अन्यायपूण ढंगले नाम हटाइएको डा.शाहीको भनाई छ।
‘२०८२/०९/०३ गते प्रकाशित पहिलो नामावलीमै आफ्नो उम्मेदवारी वैध ठहर भइसकेको अवस्थामा आधारविहीन उजुरीका कारण उम्मेदवारी खारेज गर्नु अन्यायपूर्ण हो,’उनले भने, 'नियमावलीमा वारेसनामा नोटरी प्रमाणित हुनुपर्ने व्यवस्था स्पष्ट रूपमा नदेखिएको उल्लेख गर्दै निर्वाचन समितिले २०८२/०८/२८ गते अचानक नोटरी पब्लिकबाट प्रमाणित वारेसनामा ल्याउनुपर्ने सूचना जारी गरेकोमा मेरो आपत्ति छ।’
निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेपछि मनोनयनको मितिमा डा. शाही लन्डन, युनाइटेड किङडममा आयोजना हुने ‘ईस्मो इम्युनो–अन्कोलोजी २०२५’ सम्मेलनमा सहभागी हुन जाने तय भइसकेको निवेदनमा उल्लेख छ।
सोही कारण निर्वाचन नियमावलीको प्रावधानअनुसार २०८२/०८/२३ गते डा. विपिन पौडेलका नाममा वारेसनामा दिई उम्मेदवारी दर्ता गराइएको उनले बताएका छन्।
‘उजुरी परेपछि आफू वा आफ्नो वारेससँग पर्याप्त छलफल नगरी, अत्यन्तै छोटो समयसीमाभित्र जवाफ मागी हतारमा उम्मेदवारी खारेज गरिएको छ। मेरो व्यक्तिगत कागजात विपक्षी उम्मेदवारलाई उपलब्ध गराइनु संविधानप्रदत्त गोपनीयताको हकविपरीत छ,'उनले भनेका छन्,’ नेपाल चिकित्सक संघको मूलमन्त्र ‘एकता, भ्रातृत्व र सेवा’ लाई निर्वाचन प्रक्रियामा पनि कायम राख्न आग्रह गर्दै, एक नेपाली नागरिकको संविधानप्रदत्त उम्मेदवार बन्ने हक सुरक्षित गर्दै उम्मेदवारी खारेजीको निर्णय पुनर्विचार गरिने अपेक्षा छ।’