अत्यधिक चिसो र शीतलहरका कारण वीरगञ्जका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ।
चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने भन्दै महानगरपालिकाले पुस ७ देखि ९ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
तीन दिन यता चिसो बढेपछि वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरूमा विद्यार्थीको उपस्थिति घट्न थालेका थियो ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार बालबालिकाको स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै पुस ७, ८ र ९ गते विद्यालयमा पठनपाठन स्थगित गरिएको छ।
उक्त बिदा वर्षे सट्टे विदाबाट कट्टा गरिने उनी बताउँछन्।
महानगरपालिकाले पुस ११ गते शैक्षिक क्यालेण्डरमै सट्टा बिदा दिने तय अब गरेकोले विद्यालयहरू पुस १३ गते आइतबारदेखि मात्रै सञ्चालनमा आउने उनले बताए ।
चिसो, कुहिरो र शीतलहरका कारण विशेषगरी सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरू बढी प्रभावित भएको भन्दै अभिभावक र शिक्षकहरूले जाडो बिदाको समयमै निर्णय गरिएकोमा स्वागत गरेका छन् ।
वीरगञ्ज–पिप्रास्थित सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताले चिसोले विद्यालयमा बालबालिकाको उपस्थिति घटेको अवस्थामा विद्यालय बन्द गर्ने महानगरपालिकाको निर्णय स्वागत योग्य रहेको बताए ।
'चिसो बढेको छ । अधिकांश बालबालिका न्यानो कपडा नलगाई विद्यालय आउँछन् । यस्तो अवस्थामा विद्यालय बन्द गर्नु नै उचित हो,'उनले भने ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका जिल्लाको तापक्रम निरन्तर ओरालो लागिरहेको छ।
महाशाखाले पुस ७ गते सार्वजनिक गरेको विवरण अनुसार आज सिमराको न्युनतम तापत्रम १२ देखि १४ र अधिकतम तापक्रम १६ देखि १८ डिग्री रहने अनुमान छ।
त्यसैगरी जनकपुरको न्यूनतम तापक्रम १२ देखि १४ रहँदा अधिकतम १८ देखि २० पुग्ने अनुमान छ।