पाकिस्तानले संयुक्त राष्ट्र संघको हतियार प्रतिबन्ध विपरित भिषण गृहयुद्धमा फसेको लिबियाको लिबियन नेशनल आर्मीलाई (एलएनए) हतियार बेच्न लागेको छ।
पाकिस्तानले लिबियाको अन्तर्राष्ट्रिय मान्यता पाएको सरकारविरूद्ध लडिरहेको सो लडाकू समूहलाई चार अर्ब डलरभन्दा बढीको हतियार बेच्ने सम्झौता गरेको भनेर चार पाकिस्तानी अधिकारीहरूको हवाला दिँदै समाचार संस्था रोयटर्सले जनाएको छ।
गत हप्ता पूर्वी लिबियाको सहर बेन्गाजीमा पाकिस्तानका सेना प्रमुख असिम मुनिर र एलएनएका उप-कमाण्डर सद्दाम खलिफा हफ्तरबीचको भेटपछि सो सम्झौता टुङ्ग्याइएको हो। यो पाकिस्तानले अहिलेसम्म गरेको सबैभन्दा ठूलो हतियार बिक्रीमध्येको एक मानिएको छ।
रोयटर्सले सम्झौताको मस्यौदा प्रतिलिपि फेला पारेको भन्दै पाकिस्तानले १६ वटा जेएफ-१७ लडाकु विमान र आधारभूत पाइलट प्रशिक्षणका लागि प्रयोग गरिने १२ वटा 'सुपर मुशाक' प्रशिक्षक विमान लगायत हतियार बेच्न लागेको जनाएको छ। जेएफ-१७ लडाकु विमान पाकिस्तान र चीनले संयुक्त रूपमा विकास गरेको हो।
पाकिस्तानले झण्डै साढे दुई वर्षको अवधिमा जमिन, समुद्र र आकाशमा हुने युद्धमा प्रयोग हुने हतियार बेच्न लागेको हो।
सन् २०११ मा नेटो समर्थित विद्रोहले तानाशाह मुअम्मर गद्दाफीलाई सत्ताच्युत गरेपछि गृहयुद्धमा फसेको लिबिया विभाजित र अस्थिर छ। पूर्वी भूभाग कब्जा गरेको सद्दामका बुबा खलिफा हफ्तरको एलएनए र पश्चिमी भागमा नियन्त्रण गरेको संयुक्त राष्ट्र संघको मान्यता प्राप्त राष्ट्रिय एकताको सरकारबीच युद्ध चलिरहेको छ।
सन् २०११ देखि राष्ट्र संघले लिबियालाई हतियार प्रतिबन्ध लगाएर आफ्नो स्वीकृति बेगर हतियार र सैन्य सामग्री बेच्न रोक लगाएको छ। तर लिबियामाथिको हतियार प्रतिबन्ध प्रभावहीन रहेको छ। प्रतिबन्धका बाबजुद भिन्न-भिन्न देशहरूले खुला रूपमा लिबियाका दुवै पक्षलाई सैन्य तालिम र सहायता प्रदान गरिरहेको भनेर विज्ञहरूको एक प्यानलले २०२४ डिसेम्बरमा जनाएको थियो।
पाकिस्तानले एलएनएलाई राष्ट्र संघको प्रतिबन्ध विपरित हतियार बेचे विशेष गरी पश्चिमा देशले विरोध गर्न सक्छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)