दाङको तुलसीपुरमा प्रहरीले सात लाख भन्दा बढी रकम संकलन गरेर सडकमा डिभाइडर राखेको छ।
सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यहाँका विभिन्न शैक्षिक संघसंस्था, अस्पतालसँग हात जोड्दै सहयोग मागेर इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुली छोटो अवधिमै सात लाख बढी रकम जुटाएका हुन्।
डिएसपी पराजुलीकै पहलबाट संकलित सात लाख २५ हजार रूपैयाँबाट झन्डै एक किलोमिटर सडकमा ४९४ वटा सडक डिभाइडर स्थापना गर्ने कार्य पूरा भएको छ।
सोमबार मात्रै तुलसीपुर उपमहानगरपालिका–६ हात्तीखौवास्थित राप्ती लाइफ केयर अस्पतालले उपलब्ध गराएको दुई लाख १० हजार रूपैयाँबाट तुलसीपुरको वीरेन्द्रचोकदेखि उत्तर तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको कार्यालयसम्म २०० सडक डिभाइडर स्थापना गरिएको अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक हरिप्रसाद रिजालले बताए।
डिएसपी पराजुलीका अनुसार तुलसीपुर–६ स्थित ग्रेट अरणिको माध्यमिक विद्यालयले ३० वटा डिभाइडर खरिद गर्न ७५ हजार रूपैयाँ उपलब्ध गराएको छ।
डिभाइडर खरिदका लागि अर्डर भइसकेको छ। ती डिभाइडर अपुग रहेको ठाउँ गुम्ह्रा चोकको ठीक उत्तरतर्फ स्थापना गरिने भएका छन्।
राप्ती राजमार्गअन्तर्गत गुम्ह्रा चोक र मदन आश्रित चोकको बीचमा साउन अन्तिम साता मात्रै भएका दुई फरक दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो। त्यहाँ सडक सुरक्षासम्बन्धी कुनै पनि सडक चिह्न वा संकेत थिएनन्। त्यस क्षेत्रको सडकको कमजोरीबारे सञ्चारमाध्यमले प्रश्न उठाएका थिए।
सञ्चारमाध्यमले त्यस क्षेत्रको सडक सुरक्षा मापदण्डबारे सवाल उठाएपछि तुलसीपुर उद्योग वाणिज्य संघले डिभाइडर खरिद गर्न ८३ हजार ४०० रूपैयाँ प्रदान गरेको थियो।
लगत्तै यस क्षेत्रको एक मात्रै सामुदायिक क्याम्पस राप्ती बबई क्याम्पसले डिभाइडर खरिद गर्न भन्दै ६८ हजार ५०० रूपैयाँ उपलब्ध गराएको थियो। त्यसपछि राप्ती परोपकार संघ तुलसीपुरले ५० हजार रूपैयाँ दिएको थियो।
तुलसीपुरकै अर्को निजी शैक्षिक संस्था ज्ञानज्योति फाउन्डेसनले दुई लाख रूपैयाँका डिभाइडर किनेर सडकमा स्थापना गर्यो।
ती डिभाइडर बाहिनी चोकदेखि मदन आश्रित चोकसम्म स्थापना गरिएका थिए।
सोही स्कुल परिवारले इलाका प्रहरी कार्यालय तुलसीपुरलाई झन्डै ४० हजार रूपैयाँ हाराहारीको एउटा नाइट भिजन सीसीटीभी क्यामेरा प्रदान गरेको थियो।
त्यसपछि डिभाइन टेम्पल स्कुलले ५० हजार रूपैयाँमा सडक डिभाइडर खरिद गरी स्थापना गर्यो।
यहाँको अर्को निजी शैक्षिक संस्था गोरखा मोडेल कलेजले ६५ हजार रूपैयाँ मूल्य बराबरको बडीवन क्यामेरा खरिद गरी प्रहरीलाई प्रदान गरेको थियो। अडियो–भिडियो रेकर्ड गर्ने यस्तो क्यामेरा यसअघि जिल्लामै प्रहरीलाई उपलब्ध थिएन। उक्त क्यामेरा प्रहरीको क्यूआरटी टोलीले आफूसँगै बोकेर हिँड्ने गर्छ।
साथै, तुलसीपुर उपमहानगरपालिका र तुलसीपुर उद्योग वाणिज्य संघले प्रदान गरेको झन्डै नौ लाख रूपैयाँ बराबरको रकमबाट दुई वटा अटोमेटिक रूपमा सवारीसाधनको नम्बर प्लेट रेकर्ड गर्न सक्ने अत्याधुनिक क्यामेरा खरिद गरी एउटा वीरेन्द्र चोक र अर्को घोराही रोडमा स्थापना गरिएको छ।
राप्ती राजमार्गअन्तर्गत तुलसीपुरको वीरेन्द्र चोकदेखि दक्षिण बाहिनी चोकसम्मको सडकखण्डको बीच भागमा मात्रै विगतमा स्थायी प्रकृतिको मिडियन निर्माण गरिएको छ। जसले तुलसीपुरको (क) लाइन अर्थात् मुख्य बजार क्षेत्रलाई रूखबिरूवाले हरियालीपूर्ण बनाएको छ।
त्यस्तो मिडियनले तुलसीपुरको सौन्दर्यीकरणमा मात्रै टेवा पुर्याएको छैन, बरू सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिकलाई यातायात व्यवस्थापनमा सहयोग पुगेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी सहायक निरीक्षक शम्भु धिताल बताउँछन्।
सडक बीचको मिडियनले यहाँको सीधा सडकखण्डमा यातायातका साधनका लागि ‘वान वे रूट’ निर्माण गरेको छ। स्थायी प्रकृतिको मिडियनका कारण सवारीसाधनहरू आ–आफ्नो रूटमा मात्रै गुड्न पाउँछन्। जसले व्यस्त बजार क्षेत्रमा सम्भावित दुर्घटनाको खतरा टार्न महत्त्वपूर्ण सहयोग पुगेको धितालले बताए।
‘राप्ती राजमार्गअन्तर्गत यो सडकखण्डको मिडियनले विपरीत दिशाबाट आउने सवारीसाधनबीचको सम्भावित टक्करलाई रोक्न र लेन अनुशासन पालना गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ,’ धितालले भने।
तर, त्यस्तो मिडियन वीरेन्द्र चोकदेखि उत्तरतर्फको सल्यान सडकखण्ड र बाहिनी चोकदेखि दक्षिणको बाँके–नेपालगन्ज सडकखण्डमा निर्माण गरिएको छैन।
अर्कोतर्फ, वीरेन्द्र चोकको उत्तरतर्फको राजमार्ग र दक्षिण बाहिनी चोकदेखि गुम्ह्रा चोक क्षेत्रको सडकखण्डमा सडक सुरक्षाका लागि आवश्यक सडक चिह्न वा संकेत केही पनि थिएनन्। सवारीचालकका लागि त्यस क्षेत्रमा कुनै पनि मापदण्ड थिएन। पहिले त्यहाँ मनपरी सवारी चलाइने हुँदा बारम्बार भयानक दुर्घटनाहरू हुँदै आएका थिए।
त्यही भएर यहाँका सामाजिक संघसंस्थाले राज्यले गर्नुपर्ने कामको दायित्व आफैँ मिलेर निर्वाह गर्ने प्रयास गरेका हुन्।
तर, त्यो नै पर्याप्त भने होइन।
तत्कालका लागि अस्थायी प्रकृतिका प्लास्टिकका डिभाइडरहरू सामाजिक संघसंस्थाले स्थापना गर्नु अति नै सराहनीय कार्य भए पनि भविष्यमा थप ठूला दुर्घटना हुन नदिन सडकमा स्थायी प्रकृतिका मिडियन वा संरचना निर्माण गर्न अति नै जरूरी रहेको तुलसीपुरका ट्राफिक प्रमुख धितालले बताए।
डिएसपी पराजुलीले मुख्य बजार क्षेत्रको अति व्यस्त क्षेत्रमा सहयोगी संघसंस्थाका कारण डिभाइडर स्थापना गर्ने कार्य लगभग पूरा भएको हुँदा अब तुलसीपुर बसपार्क झर्ने ओरालो नजिकको पिपलको बोटदेखि पातुखोलाको पुलचोकसम्म डिभाइडर अति नै जरूरी रहेको भन्दै सहयोगी हातहरू बढाउन आग्रह गरेका छन्।