जल तथा मौसम विज्ञान विभागले मंगलबार रातिदेखि पुस १० गतेसम्मका लागि तराईमा हुस्सु/कुहिरो/शीतलहरको अवस्था रहन सक्ने बताएको छ।
मंगलबार चेतावनी तथा परामर्श सन्देश जारी गर्दै विभागले यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात लगायतका क्षेत्रमा प्रभाव पर्ने देखिएको विभागले जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका तराई तथा भित्री मधेसका धेरै जिल्लामा चिसो बढिरहेको र चिसोका कारण जनजीवन प्रभावित भइरहेका समाचार पनि आइरहेका छन्। शीतलहरबाट गरिब तथा विपन्न वर्गका नागरिकहरू बढी प्रभावित हुने गरेको विगतका तथ्यांकहरूबाट देखिएको बताएको छ।
प्राधिकरणले ६ बुँदे निर्देशन पनि जारी गरेको छ।
न्यानो लत्ताकपडा र न्यानो गराउने उपकरण तथा सामग्रीहरू तयारी अवस्थामा राखी आवश्यक परेको खण्डमा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी संकटासन्न समुदायका घरपरिवारलाई वितरण गर्ने एवं शीतलहर पूर्वतयारी तथा प्रतिकार्यका लागि सम्बन्धित स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी पूर्वतयारी तथा प्रतिकार्य केन्द्रित क्रियाकलापमा खर्च गर्ने व्यवस्था मिलाउन विभागले भनेको छ।
त्यस्तै जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान र सोको आधारमा प्राधिकरणबाट जारी हुने सूचना एवं जानकारीअनुसार आवश्यक कदम चाल्न तयारी अवस्थामा रहन प्राधिकरणले भनेको छ।
कार्यक्षेत्रअनुसार शीतलहरबाट बच्ने उपायहरूका बारेमा सम्बन्धित स्थानीय तहसँगको समन्वयमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न पनि निर्देशन जारी गरेको छ।
यस्तै जोखिमपूर्ण संकटासन्न समुदायका व्यक्तिहरूलाई आवश्यक परेको खण्डमा न्यानो हुने गरी सार्वजनिक भवन, मठ मन्दिर, घर इत्यादिमा राख्ने प्रबन्ध गर्न पनि भनेको छ।
शीतलहरका बेला न्यानो गराउने अन्य उपयुक्त विकल्प नभएको खण्डमा सम्बन्धित डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता समूह र स्थानीय तहसँग समन्वय गरी दाउरा उपलब्ध हुने व्यवस्था मिलाउन सहयोग गर्न, प्राधिकरणलगायतका निकायबाट शीतलहर सम्बन्धमा उत्पादित सचेतनामूलक श्रव्यदृश्य सामग्रीहरू सञ्चारका सम्भाव्य सबै माध्यम प्रयोग गरी समुदाय तहसम्म पुग्नेगरी प्रकाशन तथा प्रसारण गर्न सहयोग गर्न पनि प्राधिकरणले भनेको छ।