सन् १९९८ मा पहिलो पटक देखापरेको प्राणघातक निपाह भाइरसको संक्रमण हालै नेपाल नजिकै भारतको पश्चिम बंगालमा देखिएपछि पूर्वी र दक्षिण एसियाका विभिन्न देशमा उच्च सतर्कता अपनाउन थालिएको छ।
कोरोना कहरपछि फेरि अर्को भाइरसको महामारी नफैलियोस् भनेर नेपाल, भारत र पूर्वी एसियाका विभिन्न देशले विमानस्थल तथा स्थल नाकामा निगरानी बढाएका हुन्।
निपाह भाइरस संक्रमणको जोखिमबारे हामीले थाहा पाउनैपर्ने जानकारी यस्ता छन्।
खतराको घन्टी किन?
नेपालसँग सीमा जोडिएको भारतको पश्चिम बंगाल राज्यको एक अस्पतालका हालै दुई स्वास्थ्यकर्मीलाई निपाह भाइरस देखिएपछि उनीहरूलाई सघन उपचार कक्ष आइसियूमा राखेर उपचार भइरहेको छ। निपाह भाइरस संक्रमितको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म पाइएको छ, जुन कोरोनाको भन्दा धेरै बढी हो।
अझै चिन्ताजनक कुरा यस्तो छ — निपाह भाइरस संक्रमणविरूद्ध लड्ने न कुनै खोप बनेको छ न कुनै औषधि। एक नेपाली विशेषज्ञ त यो भाइरस चमेरोमार्फत नेपालमा फैलिन सक्नेमा चिन्तित छन्।
पछिल्लो खतराको घन्टी हालै मात्र बजेको हो।
भारतको कोलकाता नजिकैको अस्पतालका स्वास्थ्यकर्मी नै निपाह भाइरस संक्रमित भएर सिकिस्त भएपछि उनीहरूलाई आइसियूमा राखेर उपचार थालियो। त्यहाँका अधिकारीहरूले उनीहरूको सम्पर्कमा आएका करिब २ सय जनाको परीक्षण गरेर निगरानी गरिरहेका छन्।
त्यसपछि नेपाल सतर्क हुनुपर्ने कारण यो हो — पश्चिम बंगाल र नेपालबीच सिमाना जोडिएको छ, जुन खुलाजस्तै छ। यहाँबाट दैनिक हजारौं मानिसको आवतजावत हुन्छ। थप सावधानी अपनाउन नेपालले पूर्वका साथै अन्यत्रका नेपाल–भारत सीमा नाकाहरूमा उच्च सतर्कता अपनाउँदै नेपाल भित्रिने मानिसको निगरानी थालिसकेको छ।
निपाह भाइरस के हो?
सुँगुर र फल खाने चमेराबाट अन्य जनावरमा सर्ने यो भाइरस सन् १९९८ मा मलेसियाको निपाह भन्ने गाउँमा सुँगुर पालक किसानहरूमा देखिएको थियो। सिंगापुरमा समेत फैलिन पुगेको निपाह संक्रमणका कारण सय जना मानिसको ज्यान गएको थियो।
त्यो कहरलगत्तै निपाह भाइरसको महामारी फैलिन नदिन त्यहाँको सरकार करिब १० लाख सुँगुर नष्ट गर्न बाध्य भयो, जसका कारण ठूलो आर्थिक क्षति भयो।
सन् २००१ देखि निपाह भाइरसले बंगालदेशलाई पनि सताउँदै आएको छ। निपाह भाइरस संक्रमणका कारण त्यसयता बंगलादेशमा एक सयभन्दा बढी संक्रमितको ज्यान गइसकेको ब्रिटिस मिडिया गार्डियन र बिबिसीले उल्लेख गरेका छन्। सीमापारिको भारतको पश्चिम बंगालमा निपाहको संक्रमण पटक पटक देखिइसकेको छ।
हालैका वर्षमा दक्षिण भारतीय राज्य केरलामा पनि निपाह भाइरसको संक्रमण दोहोरिइसकेको छ। त्यहाँ सन् २०१८ र सन् २०२३ मा निपाह संक्रमणपछि केही मानिसको ज्यान गइसकेको छ।
विश्व स्वास्थ्य संगठनले कुनै खोप र औषधि नभएको निपाहलाई कोभिड र जिकाजस्तै महामारी फैलाउन सक्ने रोगहरूको सूचीमा राखेको छ।

निपाह संक्रमण र लक्षण
निपाह भाइरस सुँगुर वा फल खाने चमेरो जस्ता पशुपंक्षीबाट मानिसमा सरेको पाइएको छ। यो मानिसको शरीरबाट निस्किने तरल पदार्थ वा जुठो वा त्यसबाट संक्रमित खानाबाट सर्ने गरेको पाइएको छ।
'फिलिपिन्समा यो भाइरस घोडाबाट पनि मानिसमा सरेको पाइएको छ,' शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा कार्यरत सरूवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले भने, 'कतिपय अवस्थामा यो चमेराले खाएको जुठो फलबाट पनि मानिसमा सरेको हुन सक्छ। त्यसैले बिरामी जनावरदेखि टाढै रहनुपर्छ।'
उनको थप चिन्ता यस्तो छ — नेपालमा वनजंगलमा यस्ता चमेरा प्रशस्त पाइने हुँदा तिनीहरूले यो भाइरस फलफूलमा छोड्न सक्छन् र त्यसपछि त्यो भाइरस वनजंगल डुली हिँड्ने मानिसमा समेत सर्न सक्छ।
'चमेरालाई यो भाइरसको कारखाना नै मानिन्छ। ती मार्फत यो भाइरस मानिसमा पुग्न सक्छ। त्यसैले नेपालीहरू यसबारे सजग र चेतनशील हुन अति जरूरी छ,' उनले भने।
निपाह भाइरस मानिसको शरीरमा आएर त्यसबाट संक्रमण देखिन ४ देखि १४ दिन लाग्छ। कतिपय अवस्थामा कुनै पनि लक्षण नदेखिइकन बिरामी सिकिस्त हुन्छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएओ) का अनुसार अधिकांश बिरामीलाई ज्वरो आउने, टाउको दुख्ने, वाकवाक लाग्ने, टाउको दुख्ने र बान्ता हुने जस्ता सुरूआती लक्षण देखा पर्छन्।
अवस्था बिग्रिन थालेपछि बिरामीलाई सास फेर्न गाह्रो हुने, घातक इन्सेफलाइटिस भएर गिदी सुन्निने जस्ता लक्षण देखा पर्छन्।
रोकथाम र उपचार
विश्व स्वास्थ्य संगठनले निपाह संक्रमणबाट जोगिन मानिसलाई चमेरा र बिरामी जनावरबाट टाढा रहन सुझाव दिएको छ। फलफूल राम्ररी धोएर र बोक्रा ताछेर खान भनेको छ।
काँचो खजुरको रूखबाट निस्किने जुस उमालेर मात्रै खाने सल्लाह दिएको छ। किनभने त्यस्ता फल चमेराले खाएर छाडेको हुनसक्ने पाइएको छ।
डाक्टर शेरबहादुर पुन भन्छन्, 'नेपालको सिमानामा हालै थालिएको निगरानी र उच्च सतर्कता निरन्तर र प्रभावकारी हुन पनि जरूरी छ।'
निपाह संक्रमणविरूद्ध लड्ने खोप वा निश्चित औषधि अझै नबनेकाले संक्रमितलाई सिधै आइसियूमा राखेर उपचार गर्ने विश्व स्वास्थ्य संगठनको सिफारिस छ।
'विभिन्न औषधि चलाउने गरिए पनि कुनै पनि प्रमाणित भइसकेको छैन। त्यसैले उपचार क्रममा हामी कोभिडको उपचारमा प्रयोग गरिने रेम्डेसिभिर जस्ता औषधि चलाउन सक्छौं,' डाक्टर पुन भन्छन्।
सरकार के गर्दैछ?
पछिल्ला विवरण अनुसार भारत सरकारले निपाह भाइरस संक्रमण नियन्त्रणमा आइसकेको र हाललाई महामारीको जोखिम हटेको जिकिर गरेको छ।
तर विश्व स्वास्थ्य संगठनले पश्चिम बंगालमा देखिएको संक्रमणको निरन्तर निगरानी भइरहेको र त्यसबाट दक्षिण एसिया र अन्यत्र फैलिन सक्ने जोखिमको आकलन जारी रहेको जनाएको छ।
नेपालले भने गत शुक्रबारदेखि हवाई तथा स्थल नाकामा हेल्थ डेस्कहरू स्थापना गरिएको र लक्षण देखिएका मानिसलाई निगरानीमा राख्ने काम सुरू भइसकेको जनाएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीका अनुसार सम्भाव्य संक्रमितहरूका लागि अस्पताल समेत तोकिसकिएको छ।
***
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal