सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नियन्त्रणमा रहेका दीपक भट्टलाई सर्वोच्च अदालतले २४ घण्टाभित्र उपस्थित हुन आदेश दिएको छ।
सोमबार बन्दी प्रत्यक्षीकरणको रिटमाथि न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले सुनुवाइ गर्दै उनलाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको हो।
‘... यो आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराई महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जबाफ पेस गर्नू भनी प्रस्तुत आदेश...,’ आदेशमा भनिएको छ।
सर्वोच्चले उनलाई नियन्त्रणमा लिनुको कारण के हो र किन रिहा गर्न नपर्ने भनेर आधार कारण पनि उल्लेख गर्न भनेको छ।
रिट परेकोबारे विपक्षीहरूलाई समेत जानकारी दिन सर्वोच्चले आदेश दिएको छ।
अनुसन्धान भइरहेको मिसिल फाइल पनि पेसीकै दिन ल्याएर फिर्ता लैजाने गरी महान्यायाधिवक्ता कार्यालयमार्फत झिकाउन समेत भनिएको छ।
भट्टकी श्रीमती आयुस्मा नेपालीले वैशाख १८ गते काठमाडौं जिल्ला अदालत, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, सिआइबी र महानगरीय प्रहरी प्रभाग सानेपालाई विपक्षी बनाएर बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।